विश्व

होर्मुज क्षेत्र नजिकिने कुनै पनि व्यावसायिक जहाजलाई आक्रमण गर्ने इरानी चेतावनी

रोयटर्स । इरानले होर्मुज जलमार्ग पुनः बन्द गर्ने घोषणा गर्दै सो क्षेत्र नजिकिने कुनै पनि व्यावसायिक जहाजलाई निशाना बनाइने चेतावनी दिएको छ। जलडमरूमध्य आसपास जहाजमाथि आक्रमण भएको रिपोर्ट सार्वजनिक भएपछि यस्तो निर्णय आएको हो।

इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्सले अमेरिकी नाकाबन्दी जारी रहेकाले जलमार्ग बन्द गरिएको जनाएको छ। यो निर्णय इरानले एक दिनअघि मात्र उक्त अन्तर्राष्ट्रिय जलमार्ग अस्थायी रूपमा खुला गरिएको घोषणा गरेपछि आएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले जलमार्गसम्बन्धी धम्की दिएर “ब्ल्याकमेल” गर्न नसक्ने बताएका छन्। करिब दुई महिनादेखि जलडमरूमध्य प्रभावकारी रूपमा अवरुद्ध हुँदा विश्व ऊर्जा बजारमा असर परेको छ।

इरानी नौसेनाले फारसको खाडी र ओमान सागरमा रहेका जहाजलाई आफ्नो स्थानबाट नचल्न निर्देशन दिएको छ। ‘होर्मुजतर्फ अघि बढ्नु शत्रुसँगको सहकार्य मानिनेछ,’ इरानी सेनाले चेतावनी दिएको छ।
ट्रम्पले इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी शान्ति सम्झौता नभएसम्म जारी रहने बताएका छन्। हाल लागू दुई साता लामो युद्धविराम अप्रिल २२ मा सकिनेछ।

अमेरिकाले अप्रिल १३ यता २३ जहाजलाई फर्काइएको जनाएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले उक्त नाकाबन्दीलाई युद्धविराम उल्लङ्घन ठहर गर्दै जलडमरूमध्य पुनः खोल्ने प्रक्रिया रोकिएको जनाएको छ।

युद्ध अन्त्यका लागि भइरहेको वार्तामा अमेरिकाबाट नयाँ प्रस्ताव आएको र त्यसबारे तेहरानले समीक्षा गरिरहेको बताइएको छ। यसअघि भएका शान्ति वार्ता बिना सहमति टुंगिएका थिए।

शनिबार भएका आक्रमणका घटनाले थप चिन्ता बढाएको छ। यूके मेरिटाइम ट्रेड अपरेशन्सका अनुसार दुई इरानी गनबोटले एक ट्यांकरमाथि गोली चलाएका थिए। साथै, ओमानको उत्तर–पूर्वी तट नजिक एक कन्टेनर जहाज अज्ञात प्रक्षेपास्त्रबाट आक्रमणमा परेको र क्षति पुगेको जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *