देश

भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन : गृहमन्त्री लेखक

काठमाडौं । पछिल्लो समय चर्चामा रहेको भिजिट भिसा काण्डबारे गृहमन्त्री रमेश लेखकले औपचारिक पत्रकार सम्मेलन गर्दै आफू निर्दोष रहेको बताएका छन्। प्रतिपक्ष दलहरुले राजीनामा गर्दै संसद अवरुद्ध गर्दै आफ्नो धारणा राख्न नदिएपछि मन्त्री लेखकले बुधबार एक पत्रकार सम्मेलन गर्दै सो प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका हुन् ।

पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले भने, “ म माथि विभिन्न राजनीतिक दलहरूले मिलेर षड्यन्त्रपूर्वक आरोप लगाएका छन्। तर ती हल्लालाई पुष्टि गर्ने कुनै प्रमाण अहिलेसम्म सार्वजनिक भएको छैन।”

गृह मन्त्रालयअन्तर्गतको प्रशासनिक प्रक्रियामा लामो समयदेखि काम गर्दै आएका तिर्थराज भट्टराईको नाम यस प्रकरणमा जोडिएको सन्दर्भमा उनले भने, “उहाँ विगतदेखि निरन्तर जिम्मेवारीमा हुनुहुन्थ्यो, तर त्यसको आधारमा म माथि संलग्नताको आरोप लगाउनु निराधार हो।”

लेखकले निष्पक्ष छानबिनको पक्षमा आफू उभिएको दोहोर्‍याउँदै कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। “यस्ता संवेदनशील मामिलामा तथ्य र प्रमाणको आधारमै निष्कर्षमा पुग्नुपर्छ,” उनले भने।

यसअघि कांग्रेस नेता गगन थापाले दोषी जो भए पनि कारबाही गर्नुपर्ने भन्दै कडा धारणा सार्वजनिक गरेका थिए। तर लेखकले भने आफ्नो बेदाग भूमिकामा विश्वास व्यक्त गर्दै, “कानुनी राज्यमा कुनै पनि आरोप प्रमाणित नहुँदासम्म त्यसका आधारमा पदबाट राजीनामा दिनुपर्ने अवस्था छैन,” स्पष्ट पारे। उनले कुनै पनि गैरकानुनी कार्य गर्नेमाथि अनुसन्धान गरेकाले आफूमाथि नियोजित षडयन्त्रको रुपमा आफुमाथि आरोप लगाइएको बताए । गृहमन्त्रालय अन्र्तगतको अनुसन्धानको निकायमा अन्य थुप्रै उजुरी विगतदेखिका भएकाले सवै उजुरीमाथि निष्पक्ष छानबिन गर्नुपर्ने उनको भनाइ छ ।

मन्त्री लेखकले कर्मचारीमाथि अख्तियारले छानबिन गर्दैमा मन्त्रीले राजीनामा दिएको उदाहरण नभएको उल्लेख गर्दै पछिल्ला तीन आर्थिक वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका उजुरीहरूको तथ्यांक धेरै भएको बताए । उनका अनुसार पछिल्लो तीन आर्थिक वर्षमा अख्तियारमा ६४ हजार ६१ वटा उजुरी दर्ता भएका छन् । सम्पूर्ण उजुरी कुनै न कुनै मन्त्रालय, विभाग वा कार्यालयका राष्ट्रसेवक कर्मचारी वा सार्वजनिक पद धारण गरेका पदाधिकारीमाथि छन् । छानबिन गर्ने र अख्तियारले मुद्दा दर्ता गर्ने काम गरिरहेको छ,’ उनले भने ।

गृहमन्त्री लेखकले तीन आर्थिक वर्षको अवधिमा गृह मन्त्रालयको नेतृत्व विभिन्न तीनजना माननीयले गरेको भन्दै त्यसअवधिमा परेका उजुरीमाथि अख्तियारले छानबिन गर्दा कुनै पनि गृहमन्त्रीले राजीनामा नदिएको उल्लेख गरे ।

मेराविरुद्ध नियोजित षड्यन्त्रपूर्ण आक्रमण भयो : गृहमन्त्री

 

कर्मचारी सरुवामा प्रश्न उठ्दा मन्त्रीको राजीनामा माग आपत्तिजनक : गृहमन्त्री लेखक

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *