नवलपरासी (पश्चिम) । जिउँदो व्यक्तिलाई मृत देखाएर झुटो मृत्यु दर्ता गराएको गम्भीर आरोपमा सुस्ता गाउँपालिका–५ का वडाध्यक्ष प्रभुनाथ अहिर, वडा सचिव संजय कुमार चौधरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत नवलपरासीबाट पक्राउ पुर्जी जारी भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सूचना अधिकारी डिएसपी वीरदत्त पन्तका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य पनि तीव्र पारिएको छ ।
यसअघि झुटो विवरणका आधारमा मृत्यु दर्ता गराउने मुख्य आरोपित तारिख मियाँ अन्सारीलाई प्रहरीले पक्राउ गरिसकेको थियो । अनुसन्धानका क्रममा उनले आफ्नै पिताको मृत्यु भएको भन्दै अर्कै ६६ वर्षीय आफन्तको नाममा गत वर्ष मङ्सिर ७ गते मृत्यु दर्ता गराएको खुलेको प्रहरीले जनाएको छ । तर, उनका पिताको वास्तविक मृत्यु भने २०६० सालमै भएको तथ्य फेला परेको छ ।
घटनाको वास्तविकता बाहिरिएपछि मृत्यु दर्तामा नाम परेका वृद्धका छोराले गत वर्ष प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि मुद्दा दर्ता भई अनुसन्धान अघि बढाइएको हो ।
मृत्यु दर्ता मुचुल्कामा साक्षी बस्ने ५५ वर्षीय छोटे खाँ पनि पक्राउ परेका छन् भने साक्षीमा हस्ताक्षर गर्ने अन्य ७ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अन्तर्गत झुटा विवरण पेश गरी मृत्यु दर्ता प्रमाणपत्र बनाएको कसुरमा उनीहरूलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।




