देश

कर्मचारी सरुवामा प्रश्न उठ्दा मन्त्रीको राजीनामा माग आपत्तिजनक : गृहमन्त्री लेखक

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले बुधबार पत्रकार सम्मेलन गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख सहसचिव तीर्थराज भट्टराई ०७७ सालदेखि नै गृह मन्त्रालय मातहत रहेर काम गरिरहेको स्पष्ट पारेका छन्। आफूमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री लेखकले भट्टराई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक भएर काम गरिसकेको व्यक्ति रहेको र आफूले उनलाई पछिल्लो पटक गृह मन्त्रालयमा सरुवा गरेर नल्याएको दाबी गरे।

गृहमन्त्री लेखकले भने, “मैले गृह मन्त्रालयमा अन्तबाट सरुवा गरेर ल्याएको होइन। मैले दिएको जिम्मेवारीभन्दा अरूले धेरै जिम्मेवारी दिएका व्यक्ति हुन्।” उनले भट्टराईलाई आफूले अचानक सरुवा गरेर गृह मन्त्रालयमा नल्याएको पनि बताए।

“निरन्तर ०७७ सालदेखि गृहमन्त्रालयमा काम गरिरहनुभएको छ। अत्यन्तै महत्त्वपूर्ण विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, उहाँ कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक भएर काम गरिरहनुभएको मान्छे कार्यालयको प्रमुख भएर जानुभएको हो,” गृहमन्त्री लेखकले भने, “यो विषयलाई यसरी प्रचार गरिएको छ कि, अचानक त्यो ठाउँमा सरुवा गरेँ भन्ने होइन। मैले कसैका प्रति आग्रह पूर्वाग्रह राखेर निवेदन गरेको छैन। यो विषय यथार्थ हो। यथार्थ विषयलाई यहाँ ल्याएको हुँ।” उनले राजनीतिक वा सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि पनि निरन्तर रूपमा छानबिन हुने गरेको भन्दै यसलाई पनि त्यसैगरी लिन आग्रह गरे।

प्रचण्डलाई प्रश्न र राजीनामाको विषय
गृहमन्त्री लेखकले कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीले राजीनामा दिनुपर्ने विषय उठ्नु नै आपत्तिजनक भएको बताएका छन्। उनले पूर्वप्रधानमन्त्री प्रचण्डप्रति सङ्केत गर्दै भने, “आफैले नियुक्त गरेका मुख्यसचिव दोषी हुँदा अहिलेका जस्ता कुरा उठे? मैले उठाएँ? मैले संसद्मा उभिएर प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनें?” उनले चरित्रहत्या र बदनाम गर्ने काम भत्र्सनायोग्य हुने र मन्त्रालयका तर्फबाट छानबिनमा पूर्ण सहयोग रहने बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *