काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको पाँचौं महाधिवेशनबाट क्षितिज थेवेको नेतृत्वमा बनेको प्यानल पूर्ण बहुमतका साथ विजयी भएको छ। अध्यक्ष पदका लागि उनले आफ्ना प्रतिस्पर्धी सुमन पुरीलाई १८८ मतको अन्तरले पछि पार्दै ७९७ मत प्राप्त गरे। पुरीले ६०८ मत प्राप्त गरेका थिए। कुल १,७६४ प्रतिनिधिमध्ये १,४०४ मत खसेको थियो।
महासचिवमा महेश चौलागाईं ७५५ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धीले ६४९ मत पाए। कुल १६३ पदमा भएको निर्वाचनमा अध्यक्ष, महासचिवसहित १५१ सदस्य र विभिन्न विभागीय पदहरूमा पनि थेवेको प्यानलले उल्लेखनीय अग्रता कायम गर्यो।
गण्डकी प्रदेशमा थेवेलाई ८४ र पुरीलाई ३९ मत प्राप्त भयो। कोशी प्रदेशमा थेवेले १५४ मत ल्याउँदा पुरीले ३१ मा सिमित भए। आयोजक प्रदेश (पोखरा)मा पनि थेवेको पकड देखियो—२३४ मत पुरीको १७६ को मुकाबिलामा।
यद्यपि पुरीले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, मधेश र बागमती प्रदेशमा थेवेमाथि अग्रता कायम गरेका थिए। तर समग्र नतिजाले थेवेको पक्षमा स्पष्ट बहुमत प्रकट गर्यो। यसअघि सर्वसम्मतिको प्रयास भए पनि सहमति नजुटेपछि मतदानमार्फत नेतृत्व चयन गरिएको थियो। महाधिवेशनमा कुल ३९९ उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए। थेवेको नेतृत्वमा अब नयाँ कार्यसमिति गठन भएसँगै युवा संघले आगामी दिनमा कस्तो दिशा लिन्छ भन्नेबारे चासो बढेको छ।




