काठमाडौं । प्रतिनिधिसभामा जारी तनावबीच सत्तारुढ नेपाली कांग्रेसले विपक्षी दलहरूलाई सबै पक्षको आवाज सुन्न आग्रह गरेको छ। माओवादी केन्द्रका वर्षमान पुन र रास्वपाका शिशिर खनालले गृहमन्त्रीमाथि प्रश्न उठाएपछि कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसद सबैको हो भन्दै आफ्नो धारणा राख्न पाउनु पर्ने माग गरे।
सभामुख देवराज घिमिरेले घिमिरेलाई बोल्ने अनुमति दिएका थिए। उनले भने, विपक्षी सांसदहरूले उठाएका कुरा हामीले गम्भीरतापूर्वक सुन्यौँ। अब उहाँहरूले पनि हाम्रो कुरा सुन्ने दायित्व निर्वाह गर्नुपर्छ।
तर, विपक्षी दलहरूको कडा विरोधका कारण घिमिरेको वक्तव्य अधुरै रोकिएको थियो। विपक्षीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन नभएसम्म संसद चल्न नदिने अडान लिएका छन्।




