काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखकसम्बन्धी भिजिट भिसा प्रकरणलाई लिएर संसद अवरोध गर्ने विपक्षी दलहरूको तयारीलाई आधारहीन र अनावश्यक भन्दै अस्वीकार गरेको छ।
सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्रीमाथि कुनै औपचारिक आरोप नलागेकाले संसद रोक्नुको तुक नहुने स्पष्ट पारे।
“गृहमन्त्री लेखक छानबिनको दायरामा हुनुहुन्न, उहाँमाथि औपचारिक रूपमा कसैले पनि आरोप दर्ता गरेको छैन,” महतले भने, “सामाजिक सञ्जाल र मिडियामा आएको अफवाहका आधारमा संसद अवरोध गर्नु असंवैधानिक र लोकतान्त्रिक प्रक्रिया विपरीत हो।”
उनले केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबारे उठाइएको मुद्दालाई अहिलेको प्रकरणसँग तुलना गर्न मिल्दैन भन्ने धारणा राखे। महतका अनुसार, “लामिछानेमाथि संसदमा आरोप दर्ता भएको थियो, सुरक्षा निकायले पनि छानबिन अगाडि बढाइसकेको थियो। तर लेखकमाथि यस्तो कुनै आधार देखिएको छैन।”
विपक्षी मोर्चामा रहेका नेकपा माओवादी केन्द्र, रास्वपा लगायत दलहरूले लेखकको नाम जोडिएको भिसा प्रकरणलाई संसदमा उठाउने र आवश्यक परेमा सदन अवरुद्ध गर्ने रणनीति बनाइरहेका बेला कांग्रेसको यस्तो प्रतिक्रिया आएको हो।
कांग्रेसले लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्दै यस्ता मुद्दामा तथ्य र प्रमाणका आधारमा मात्रै निर्णय हुनुपर्नेमा जोड दिएको छ। प्रवक्ता महतले संसदको मर्यादा जोगाउन सबै राजनीतिक दलहरू जिम्मेवार हुनुपर्ने आग्रह गरे।




