राजनीति

गृहमन्त्रीमाथि विनाप्रमाण आरोप र प्रत्यारोप ,कांग्रेसभित्र किन दुई धार ?

सरकारका प्रवक्ता एवम सञ्चार, सूचना एवम् प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नपर्ने बताएका छन् । एमालेको सचिवालय बैठकका लागि पुगेका उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । सरकारले भ्रष्ट्राचारीहरुको अर्पेशनमा सुई घुमाउँदा कुनै एक जना पक्राउ पर्ने अनि गृहमन्त्रीको राजीनामा माग्ने ? यो संविधान विपरितको कार्य हो उनले भने ।

काठमाडौं । विनाप्रमाण गृहमन्त्री रमेश लेखकमाथि उठेको भिजिट भिसा प्रकरणमा आरोप र प्रत्यारोप लगाउन थालेपछि नेपाली कांग्रेसभित्र दुई थरि मत सार्वजनिक भएकाे छ  । नेकपा एमाले र सत्ताप्रतिपक्षका राजनैतिक दलहरुले नेपाली कांग्रेसलाई नैतिक दबाबमा फसाउने रणनीतिका साथ हल्ला र प्रचारबाजीका गृहमन्त्रीको नैतिक चरित्र हत्या गरेपछि मन्त्रालयले शनिबार एक विज्ञप्ती जारी गर्दै आपत्ति जनाइसकेकाे छ  । मन्त्रालयले  विज्ञप्ती जारी  गर्दै कुनै पनि कर्मचारीमाथि अनुसन्धान गर्न सरकारले नपाउने भन्दै आपत्ति जनाएको हो ।पोखरा विमानस्थल घोटला प्रकरणमा मुछिएका एमालेनेताहरुमाथिको अनुसन्धान अगाडी बढाउने विषयमा कांग्रेसले चासो देखाएपछि एमालेले गृहमन्त्री तथा कांग्रेस नेताहरुमाथि छानीछानी विभिन्न आरोप र प्रत्यारोप लगाउन थालेको स्रोतको दाबी छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचार एवम् क्रियाप्रतिक्रिया प्रति मन्त्रालयले गम्भीर आपत्ति जनाउदैँ कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशन र प्रशारण नगर्न आग्रह गरेको छ । कुनैपनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं । साथै, विषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गर्न आग्रह गर्दछौँ ,जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्नका लागि गृह प्रशासन निरन्तर क्रियाशील रहेको छ । मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै गृह प्रशासनलाई व्यवस्थित गर्नका निम्ति नीतिगत तथा संस्थागत सुधारका कार्यहरू समेत गर्दै आइरहेको छ।
पछिल्लो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको काम कारवाहीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्यतथ्य व्यहोरा सबैको जानकारीमा आउने नै छ । आयोगबाट हुने छानविन तथा अनुसन्धान सम्बन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

तर अहिलेसम्म विभिन्न संचारमाध्यमहरुले परिचालित ढङग्बाट गृहमन्त्रीको टिक्काटिप्पणी र चरित्र हत्या हुने किसिमका समाचारहरु सार्वजनिक गरिरहेका छन् । ती समाचारहरुमा गृहमन्त्री लेखकले घुस लिएको रकम र कागजातहरु सार्वजनिक गरिएका छैनन्, त्यसैले मन्त्रालयले हल्लाका भरमा भन्दा सत्य,तथ्य विषयवस्तुमा केन्द्रित भएर समाचार प्रकाशन तथा प्रसारण गर्न मन्त्रालयले आग्रह गरेको हो ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कुनै एकजना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउँदै गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको बताएका छन् । आइतबार विराटनगरमा आयोजित कार्यक्रममा पत्रकारहरुसँगको भेटमा सिटौलाले यस्तो बताएका हुन् । कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने उनको भनाइ छ ।

कांग्रेस संस्थापन पक्षमा रहेका सिटौला लगायत प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा ,कांग्रेस प्रमुख सचेतक श्याम लगायतका नेताहरुले गृहमन्त्री लेखकमाथि विनाप्रमाण हल्लाका भरमा सामाजिक संजाल र परिचालित मासिहरु लागि रहेको बताउँदै सो विषयमा सत्य तथ्य कुरा प्रमाणका आधारमा बाहिर आएपछि मात्र गृहमन्त्री लेखकले नैतिकताका बारेमा केही सोच्ने बताएका छन् । अहिले कर्मचारीमाथि अनुसन्धान गरेकै भरमा गृहमन्त्रीमाथि विभिन्न आरोप प्रत्यारोप लगाउनु उचित नहुने उनीहरुको भनाइ छ । यस्तै संस्थापन इतरसमुहका नेता डा. शेखर कोईरालाले गृहमन्त्रीको राजीनामा मागेपछि कांग्रेसभित्र देखिएको दुई धारका कारण कांग्रेस सभापति देउवालाई समेत दबाबमा राख्ने प्रपञ्च रचिएको छ । सभापति देउवाले सोमबार बिहान बैठक बस्ने गरी पदाधिकारीहरुलाई निम्तो गरिसकेका छन् ।

सभापति देउवाले बोलाएको बैठकका मुख्य एजेन्डामा क्रियाशील सदस्यता नवीकरण,गृह मन्त्रालयमा बढ्दो विवाद रहेका छन् । सोमबारका लागि सभापति देउवाले बोलाएको पदाधिकारी बैठकमा महासचिव गगन थापाले अहिलेसम्मको प्रगति बारे ब्रिफिङ गर्नेछन्। थापा सदस्यता व्यवस्थापन समितिका संयोजक समेत हुन्। कांग्रेसले असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको समय सीमा तोकेको छ। यस्तै गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्रीको सचिवालयसमेत विवादमा तानिएको छ। यस विषयमा पार्टीको धारणा बनाउन र सम्भावित कदमबारे छलफल हुने बताइएको छ।

गृहमन्त्री रमेश लेखकले भ्रष्ट्राचार जन्य गतिविधिलाई न्युनीकरण गर्नका लागि प्रहरीलाई अनुसन्धान तिव्र बनाउन निर्देशन दिएपछि त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयमा भइरहेको अवैध भिजिट भिसा कारोबार प्रकरणमा अख्तियारको छापा पर्‍यो, प्रमुख अधिकृत सहसचिव तीर्थराज भट्टराई पक्राउ परे। त्यसपछि सो प्रकरणले गृहमन्त्री लेखकलाई विवादमा पारेको छ । तर गृहमन्त्री लेखकले सामाजिक संजालमा भिडियो सन्देश जारी गरी विभिन्न गतिविधिमा लागेका व्यक्तिहरुमाथि अनुसन्धान गर्न आफूले निर्देशन दिएपछि आफूलाई विवादमा पार्न विभिन्न षड्यन्त्र रचिएको  बताएका छन्  ।

गृहमन्त्री लेखकले आफूले भ्रष्ट्राचार गरेको प्रमाण फेला पार्न समेत आरोपितहरुलाई खुल्ला चुनौती दिएका छन् ।  कांग्रेस सांसद राजेन्द्र बजगाईंले कांग्रेस सभापति देउवालाई पत्र नै लेखेर भ्रष्टाचारको आरोप लागेका मन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । पार्टीको प्रतिष्ठा जोगाउन र संस्थागत शुद्धीकरण गर्न, विवादास्पद, भ्रष्टाचारमा मुछिएका वा कार्यक्षमतामा पूर्ण असफल मन्त्रीहरूलाई तुरुन्त बर्खास्त गर्नुपर्ने बजगाईंले सुझाव दिएका छन् । बजगाईंले गृहमन्त्री लेखकसँगै पर्यटनमन्त्री बद्री पाण्डेलाई पनि बर्खास्त गरेर पार्टीको साख जोगाउन माग गरेका छन् ।

सरकारका प्रवक्ता एवम सञ्चार, सूचना एवम् प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नपर्ने बताएका छन् । एमालेको सचिवालय बैठकका लागि पुगेका उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । सरकारले भ्रष्ट्राचारीहरुको अर्पेशनमा सुई घुमाउँदा कुनै एक जना पक्राउ पर्ने अनि गृहमन्त्रीको राजीनामा माग्ने ? यो संविधान विपरितको कार्य हो उनले भने । प्रवक्ता गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा प्रकरणबारे छानबिन जारी रहेको स्पष्ट पारे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *