काठमाडौं ।गृहमन्त्री रमेश लेखकले अपराधका नयाँ तरिकाहरू थपिएको भन्दै अपराध अनुसन्धानलाई नयाँ ढंगले विस्तार गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।
आइतबार काठमाडौंमा नेपाल प्रहरी स्टाफ कोर्सको उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले अहिलेको अपराध अनुसन्धान शैली पर्याप्त नभएको बताए। शान्ति सुरक्षा कायम गर्न अनुसन्धानको दायरालाई अझ फराकिलो बनाउनुपर्नेमा उनले जोड दिए। २५-३० वर्षअघिको तुलनामा अहिले सुरक्षा व्यवस्थामा सुधार भए पनि पछिल्ला समयमा देखिएका नयाँ अपराधका आयामहरूलाई सम्बोधन गर्न नयाँ प्रविधिको प्रयोगमार्फत अनुसन्धानमा पहुँच बढाउनुपर्ने उनको भनाइ थियो। नेपाल प्रहरी कानुन कार्यान्वयनको महत्वपूर्ण माध्यम भएकाले समयअनुसार अघि बढ्न सक्नुपर्नेमा मन्त्री लेखकले जोड दिए।
गृहमन्त्री लेखकले सुरक्षामा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न प्रहरी थप परिष्कृत बन्नुपर्ने आवश्यकता औंल्याए। समाजमा भइरहेको तीव्र परिवर्तन र प्रगतिसँगै आपराधिक क्रियाकलापको संख्या पनि बढ्दै गएको उनले बताए। अवसर र सम्भावनासँगै चुनौती र जोखिम पनि उत्तिकै रहेकाले त्यसलाई नियन्त्रण गर्न नयाँ तौरतरिकाहरू सिक्न जरुरी रहेको उनको भनाइ थियो।
पछिल्लो समयको परिवर्तनबाट उत्पन्न हुने चुनौतीलाई सही ढंगले सम्बोधन गर्न नेपाल प्रहरी स्टाफ कोर्सजस्ता कार्यक्रमहरूको भूमिका महत्वपूर्ण हुने गृहमन्त्री लेखकले बताए। नेपाल प्रहरीमा पहिलोपटक लिडरसिप एण्ड स्टाफ कोर्स सुरु भएको छ। स्टाफ कलेजका लागि ३५ जनालाई सहभागी गराउने भनिए पनि प्रवेश परीक्षामा १७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) मात्रै उत्तीर्ण भएका छन्। २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएकाहरूको टोलीबाट यो कोर्सको सुरुवात गरिएको हो।
प्रहरीमा पहिलोपटक सुरु भएको स्टाफ कोर्सले बढुवा प्रक्रियालाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। अब स्टाफ कोर्स अध्ययन गर्नेहरूले तीन सेमेस्टरमा परीक्षा दिनुपर्नेछ। कुनै सेमेस्टरमा अनुत्तीर्ण भएमा अर्को वर्ष पुनः परीक्षा दिन पाइने व्यवस्था छ। प्रस्तावित विधेयक संसदबाट पारित भएर कार्यान्वयनमा आएमा स्टाफ कलेज उत्तीर्ण नगर्नेहरू प्रहरी नायव महानिरीक्षक (डीआईजी) बन्न पाउने छैनन्। प्रहरी उपरीक्षक (एसपी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा पनि स्टाफ कलेज गरेका र नगरेकाहरूका लागि छुट्टै कोटा तोकिएको छ।




