देश

किटमा नेपाली विद्यार्थीको निधनपछि दूतावासको चासो, विश्वविद्यालयका प्रतिनिधिसँग छलफल

काठमाडौं । भारतको उडिसास्थित किट विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रिसा साहको मृत्यु भएपछि भारतस्थित नेपाली दूतावासले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै विश्वविद्यालय प्रशासनसँग छलफल गरेको छ।

दूतावासले शुक्रबार बिहान किटका प्रतिनिधिहरूलाई बोलाएर घटनाबारे जानकारी लिएको छ। १८ वर्षीया साह किट विश्वविद्यालयको स्नातक तह पहिलो वर्षमा अध्ययनरत थिइन् र उनको शव बिहीबार साँझ होस्टेलको कोठामा झुन्डिएको अवस्थामा फेला परेको थियो।

दूतावासले घटनाबारे तुरुन्तै भारतको केन्द्र सरकार, उडिसा राज्य सरकार, सम्बन्धित सुरक्षा निकाय तथा त्यहाँ रहेका नेपाली विद्यार्थीहरूसँग समन्वय थालेको जनाएको छ। दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “शैक्षिक संस्थाका प्रतिनिधिहरू, प्रहरी अधिकारी, विदेश मन्त्रालयका पदाधिकारी लगायत सरोकारवालाहरूसँग तत्काल सम्पर्क गरी घटनाको निष्पक्ष छानबिन र अन्य नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरिएको छ।”

नेपाली राजदूत डा. शंकर शर्माले उडिसाका मुख्यमन्त्री मोहनचरण माझी र प्रदेशका प्रमुख सचिवसँग सम्पर्क गरी घटनाप्रति दुःख व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। साथै, दूतावासले मृतक विद्यार्थीका परिवारसँग समेत निरन्तर सम्पर्कमा रहेको जनाएको छ। यस घटनाले विदेशी शिक्षालयहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा र मानसिक स्वास्थ्यप्रतिको व्यवस्थापनमा गम्भीर प्रश्न उठाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *