देश

विपद् जोखिम व्यवस्थापनका लागि सुकुम्बासी विवरण मागिएको नेपाली सेनाको स्पष्टोक्ति

काठमाडौँ । नेपाली सेनाले आगामी वर्षायाममा हुन सक्ने बाढी, पहिरो, डुबान तथा नदी कटानजस्ता विपद् जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी तीव्र पारेको जनाएको छ ।

सेनाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा विगतका विपद् घटनाबाट सिक्दै यसपटक पनि सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा तयारी अघि बढाइएको उल्लेख गरिएको छ ।

सेनाले मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यसहित सम्भावित जोखिम क्षेत्रको पहिचान तथा जोखिम नक्साङ्कन (ह्याजार्ड म्यापिङ) को कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ । यसका लागि स्थानीय युनिटहरूलाई तथ्याङ्क अद्यावधिक गर्न निर्देशन दिइएको पनि विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा नेपाली सेनाले सुकुम्बासीहरूको विवरण माग गरेको भन्ने दाबीप्रति सेनाले आपत्ति जनाएको छ ।

सेनाले उक्त दाबीलाई अस्वीकार गर्दै आफ्नो गतिविधि कुनै पनि व्यक्तिको विवरण संकलनका लागि नभई विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन जोखिमयुक्त क्षेत्र पहिचान तथा तयारीका लागि मात्र भएको स्पष्ट पारेको छ ।

सेनाले विपद् प्रभावित अवस्थामा तत्काल उद्धार, राहत वितरण तथा पुनर्स्थापना कार्य सहज बनाउन पूर्वतयारीलाई केन्द्रमा राखिएको जनाएको छ । साथै, सम्बन्धित निकायहरूसँग समन्वय गर्दै जनधनको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *