ललितपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद डा. शेखर कोइरालाले श्रमिकहरूको समस्या समाधानका लागि श्रमिक आयोग गठन गर्नुपर्ने आवश्यकता औंल्याउँदै यसतर्फ नेपाली कांग्रेस गम्भीर रहेको बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसले १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै सांसद कोइरालाले विभिन्न राजनीतिक परिवर्तन र आन्दोलनहरूमा श्रमिकहरूको ऐतिहासिक योगदानको स्मरण गर्दै श्रमिकका हकहित संरक्षण गर्न आयोग गठन अपरिहार्य भएको धारणा राखे ।
‘हामीले केही हाँसिल गरेका छैनौं भन्ने होइन, तपाईंहरूको अथक प्रयासले नै योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको जग बसालिएको हो,’ उनले भने, ‘तर अझै पनि अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षामा समावेश गर्ने चुनौती हामीसँग छ, त्यसतर्फ गम्भीर भएर अघि बढ्नुपर्छ ।’
उनले होटल क्षेत्रमा कार्यरत श्रमिकहरूले उठाएको सेवा शुल्कको १० प्रतिशत प्राप्त गर्ने माग उचित रहेको बताउँदै यसलाई सम्बोधन गर्न सर्वोच्च अदालतको निर्देशनसमेत आइसकेको स्मरण गराए । ‘कानून बनाएर त्यसलाई कार्यान्वयन गर्नुपर्छ भन्नेमा नेपाली कांग्रेस स्पष्ट छ,’ कोइरालाले प्रतिबद्धता जनाए । विश्वको जटिल आर्थिक परिदृश्यप्रति पनि उनले चिन्ता व्यक्त गरे । ‘अहिले विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्ध चलिरहेको छ, त्यसको असर नेपालजस्तो विकासशील मुलुकमा पर्नु स्वाभाविक हो,’ उनले भने ।
सांसद कोइरालाले श्रमिकहरूको त्याग र संघर्षबिनाका २००७ सालको प्रजातान्त्रिक क्रान्ति, २०४६ सालको जनआन्दोलन र २०६२/०६३ को लोकतान्त्रिक आन्दोलन सफल नहुने उल्लेख गर्दै श्रमिक वर्गको योगदानप्रति सम्मान प्रकट गरे । कांग्रेस श्रमिक हितका सवालमा सधैं अग्रसर रहँदै आएको छ र आगामी दिनमा श्रमिक आयोग गठनलगायत श्रमिक हितका कानुनी संरचनालाई अझ सुदृढ गर्न निरन्तर प्रयत्नशील रहेको उनको भनाई छ ।




