काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणा कार्यक्रम आकस्मिक रूपमा स्थगित गरिएको छ। कार्यक्रम स्थलमै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेपछि एकता प्रक्रिया स्थगित भएको हो ।
घोषणा कार्यक्रम आज बिहान ११ बजे राजधानीको प्रज्ञा भवनमा तय गरिएको थियो। तर, चौधरीलाई प्रहरीले कार्यक्रम सुरु हुनुअघि नै पक्राउ गरेपछि, कार्यक्रम रोकिएको जनमत पार्टीका अध्यक्ष डा .सिके राउतले जानकारी दिए । डा. राउतले चौधरीको गिरफ्तारीको निन्दा गर्दै, एकता प्रक्रिया अन्तिम चरणमा पुग्दा यस्तो घटना हुनु दुःखद छ,भने। प्रहरीले चौधरीलाई पुरानो अदालतको फैसलाअनुसार डिल्लीबजार कारागार पुर्याएको छ। कार्यक्रम स्थगन भएको जानकारी दिँदै डा. राउतले सहभागी सबै नेता तथा कार्यकर्तालाई घर फर्कन आग्रह गरेका छन्।
जनमत पार्टीले देशमा पहिचानवादी शक्तिहरू एक ठाउँमा नआउन भन्नका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको आरोप लगाएको छ । पार्टीका प्रवक्ता शरदसिंह यादवले प्रज्ञा प्रतिष्ठानमा कुराकानी गर्दै यस्तो बतँएका हुन् । ‘यो देशमा पहिचानवादी शक्तिहरू एक ठाउँमा नआउनु भन्नका लागि रेशम चौधरीलाई पक्राउ गरेको देखिन्छ,’ उनले भने ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारीले चौधरी पक्राउ परेको पुष्टि गरे । उनका अनुसार सर्वोच्च अदालतको फैसला कार्यन्वयनका लागि चौधरीलाई डिल्लीबजार कारागार पठाइएको छ । टिकापुर हत्याकाण्डमा जन्मकैदको सजाय पाएका चौधरी २०८० जेठ १५ गते राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका थिए । त्यसविरुद्ध सारदा कडायतले सर्वोच्चमा रिट दर्ता गरेकी थिइन् । कडायत टिकापुर घटनामा मारिएका प्रहरी अधिकृत (इन्सपेक्टर)की श्रीमती हुन् । चौधरी समातिएपछि एकता घोषणाका लागि हुने भनिएको कार्यक्रम रोकिएको छ ।




