काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासङ्घसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन्। मङ्गलबार रातिको वार्तापछि मन्त्रालयमा सञ्चारकर्मीलाई जानकारी दिँदै उनले शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको बताए।
वार्तामा शिक्षकहरू पनि सकारात्मक रूपमा प्रस्तुत भएको बताइएको छ। शिक्षामन्त्री रघुजी पन्त र महासङ्घका पदाधिकारीबीच मङ्गलबार राति ८ बजेदेखि साढे १० बजेसम्म वार्ता भएको थियो। वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।
महासङ्घका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी भएको जनाइएको छ। सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सोमबार भएको वार्ता सकारात्मक रूपमा अघि बढेपछि आज पुनः वार्ता भएको हो।
विभिन्न माग राख्दै शिक्षक सङ्घ सङ्गठनहरूले गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन्। यसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठनपाठन प्रभावित भएको छ।




