काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारसम्बन्धी अध्ययन गर्न गठित उपसमितिले सोमबार संसदमा प्रतिवेदन पेश गरेको छ। उपसमितिको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन ले गरेका थिए।
एक वर्षअघि गठन भएको उपसमितिले विमानस्थलमा भएका अनियमितता र भ्रष्टाचारबारे गहिरो अध्ययन गरेको हो। सोमबार संसद भवनको शंकर हलमा पत्रकार सम्मेलन आयोजना गर्दै संयोजक लिङदेनले ३८ पृष्ठको प्रतिवेदन पेश गरेका छन्। यस प्रतिवेदनमा ६ वटा मुख्य निष्कर्ष प्रस्तुत गरिएको लिङदेनले जानकारी दिएका छन्।
उपसमितिको अध्ययन प्रक्रियामा स्थलगत अनुगमन, छलफल, अन्तरक्रिया र कागजात अध्ययन समावेश गरिएको थियो। लिङदेनले प्रतिवेदन बुझाउँदै भने, “हामीले पोखरा विमानस्थलमा भएका भ्रष्टाचारका गुनासाहरुका बारेमा विस्तृत अध्ययन गरेका छौं र निष्कर्ष निकालेका छौं।”
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले पोखरा र भैरहवा विमानस्थलमा भएको भ्रष्टाचारका सम्बन्धमा अध्ययन गर्न २ वटा उपसमिति गठन गरिएको जानकारी दिए। पोखरेलका अनुसार, लिङदेनको नेतृत्वमा पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन आज बुझाइएको छ भने, भैरहवा विमानस्थलको अध्ययन प्रतिवेदन योगेश भट्टराई को नेतृत्वमा जारी छ।
सभापति पोखरेलले भने, “प्राप्त प्रतिवेदनलाई मूल समितिमा छलफल गरेर अन्तिम निष्कर्षमा पुर्याइने छ।
यस उपसमितिमा संयोजक राजेन्द्र लिङदेनका साथ साथै जनार्दन शर्मा, गोकुल बास्कोटा, अमनलाल मोदी, अर्जुननरसिंह केसी, प्रेम आले, रामकृष्ण यादव, तारा लामा, देवप्रसाद तिमिल्सेना, दीपक गिरी, र रुकमणी राना सदस्यको रूपमा समावेश छन् ।
राजेन्द्र लिङदेन नेतृत्वको संसदीय उपसमितिले संसदीय समितिलाई बुझाएको प्रतिवेदनमा उपसमितिकै सदस्य गोकुल बास्कोटाले भने फरक मत राखेका छन् ।
उपसमिति संयोजक लिंगदेनले प्रतिवेदन बुझाउन आयोजित पत्रकार सम्मेलन सकिए लगत्तै उक्त पत्रकार सम्मेनलमा नै एमाले सांसद बास्कोटाले प्रतिवेदन अधुरो रहेको बताएका हुन् । सबै बैठकमा आफू सहभागी नभएको भन्दै सो प्रतिवेदनले पूर्णता पाउन नसकेको बताए ।





