दाङ। नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले प्रधानमन्त्रीको भूमिका प्रभावकारी हुन नसकेको बताएका छन्।
घोराहीमा प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता महतले दुई ठूला राजनीतिक शक्ति मिलेर बनेको सरकारले जनताका गुनासालाई अपेक्षाकृत रूपमा सम्बोधन गर्न नसकेको बताए। उनले शिक्षक आन्दोलन, गभर्नर नियुक्ति र सुशासन कायम लगायतका विषयमा प्रधानमन्त्रीले सन्तुलन मिलाउन नसकेको तथा समन्वय र सहकार्य नगरेको आरोप लगाए।
कांग्रेस नेता महतले सक्षम, योग्य र अर्थतन्त्रलाई मार्गनिर्देश गर्ने गभर्नर नियुक्त हुनुपर्ने पक्षमा नेपाली कांग्रेस रहेको भन्दै प्रधानमन्त्रीकै कारण गभर्नर नियुक्तिमा विलम्ब भएको दाबी गरे। सरकारले चाहेअनुसार काम गर्न नसक्दा जनतामा निराशा बढेको बताउँदै उनले राजनीतिक नेतृत्वले अनावश्यक आश्वासन बाँढ्दै हिँड्न नहुने बताए।
सहकारीमा साना बचतकर्ताको रकम अपचलन भएको भन्दै नेता महतले सम्बन्धित व्यक्तिबाटै असुलउपर गरी बचतकर्तालाई रकम फिर्ता गर्ने काममा सरकार लाग्नुपर्ने बताए। पूर्वराजाले शक्ति आफ्नो हातमा लिने र मनोमानी गर्न खोजेकै कारण गणतन्त्र आएको स्मरण गर्दै उनले पुनः राजा फर्काउने सम्भावना नरहेको पनि बताए।
प्रेस युनियन दाङका उपाध्यक्ष गोपाल शर्मा भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।




