काठमाडौं । सरकारको स्थायित्वबारे चलिरहेको अड्कल–कुहिरो चिर्दै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एउटै स्वरमा गठबन्धन यथावत् रहेको सन्देश दिएका छन्। संसद बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै दुवै नेताले समीकरण फेरबदलको कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन्।
प्रधानमन्त्री ओलीले कांग्रेससँगको समझदारीअनुसार आगामी १४ महिनापछि पद हस्तान्तरण गर्ने बताए। ‘अब १४ महिनापछि मैले राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ,’ संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने।
त्यसैगरी, विदेश यात्राबाट फर्किएका देउवाले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग छोटो कुराकानी गर्दै गठबन्धनबारे कुनै अन्योल नभएको बताए। उनले भने, ‘गठबन्धन जस्तो छ, ठीक छ। केही भएको छैन।’
प्रधानमन्त्री ओली र सभापति देउवाबीच पछिल्लो समय देखिएको समन्वयको पुष्टि परराष्ट्रमन्त्री एवं देउवा पत्नी डा। आरजु राणा देउवाले पनि गरिन्। उनले दुवै नेताबीच टेलिफोन संवाद भएको जानकारी दिँदै सरकार परिवर्तनको हल्ला मनोरञ्जनमात्र भएको बताइन्।
यता, गठबन्धनकै अर्को घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले संसदीय दलको बैठकमा देउवा फर्केपछि नयाँ समीकरणबारे छलफल गर्ने संकेत गरेपछि केही समय राजनीतिक वातावरणमा तरंग आएको थियो।
तर कांग्रेस भित्रैबाट आएको असन्तुष्टि भने समसामयिक रूपमा गहिरिँदो देखिन्छ। महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र नेता डा. शेखर कोइरालालगायत नेताहरूले ओली सरकारको कार्यशैलीप्रति चर्को आलोचना गर्दै आएका छन्। उनीहरूको सार्वजनिक आलोचनाले कांग्रेसको आन्तरिक मतभेद उजागर भएको छ।
यसैबीच, नेकपा एमालेका सचिव गोकर्ण विष्टले गठबन्धन सरकारलाई मर्यादित रूपमा अघि बढाउन आग्रह गरे। प्रतिनिधि सभामा बोल्दै उनले कांग्रेसभित्रका केही नेताको भूमिका अस्पष्ट रहेको टिप्पणी गर्दै समस्या संयन्त्रभित्रै हल गर्नुपर्नेमा जोड दिए। कहिलेकाहीँ त यस्तो लाग्छ, सत्तामा रहेका साथीहरू पनि सत्तामा हुनुहुन्छ कि प्रतिपक्षमा, छुट्याउन गाह्रो हुन्छ,’ विष्टले भने, ‘गठबन्धन सरकारलाई जिम्मेवार ढंगले अघि बढाऔं।’
सरकारको आयु र स्थायित्वबारे विभिन्न कोणबाट भइरहेका टिप्पणीहरूबीच प्रमुख नेताहरूको साझा सन्देशले तत्कालका लागि राजनीतिक स्थिति स्थिर देखिएको छ। तथापि, गठबन्धनभित्रको आन्तरिक तानातान भने चुनौतीका रूपमा कायमै रहेको देखिन्छ।




