काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई औपचारिक वार्ताका लागि आह्वान गरेको छ। सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको आन्दोलनप्रति सरकार गम्भीर रहेको जनाउँदै मन्त्रालयले वार्तामार्फत समस्याको समाधान खोज्न आग्रह गरेको हो।
मन्त्रालयका सचिव डा। दीपक काफ्लेले शिक्षक महासंघलाई संवादमा आउन अनुरोध गर्दै भने, “विधेयक शिक्षक प्रतिनिधिहरूसँग परामर्शमै तयार गरिएको हो, समस्याको हल संवादबाटै सम्भव छ।”
शिक्षामन्त्रीको अपिल ः शिक्षामन्त्री रघुजी पन्तले प्रेस विज्ञप्तिमार्फत आन्दोलनप्रति सरकार संवेदनशील रहेको स्पष्ट पार्दै वार्ताको ढोका खुला रहेको बताएका छन्।“विधेयक संसदमा छलफल हुँदैछ र कानुनी प्रक्रिया अनुसार अगाडि बढ्नेछ,” मन्त्री पन्तको भनाइ छ, “सरकार शिक्षकहरूसँग संवाद गर्न तत्पर छ।”
सरकारले संसदको चालु अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गराउने तयारी गरेको छ। यद्यपि, शिक्षक महासंघको औपचारिक प्रतिक्रिया आउन बाँकी छ। सरकारले समस्या समाधानका लागि वार्ताको मार्ग खुला राख्दै आएको अवस्थामा शिक्षक महासंघको निर्णयले आन्दोलनको भविष्य निर्धारण गर्नेछ।





