काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणाले हालै चलिरहेको सरकार परिवर्तनसम्बन्धी चर्चालाई पूर्णतः हल्ला मात्र भएको भन्दै खण्डन गरेका छन्। थाइल्यान्ड भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका दम्पतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै वर्तमान सत्ता गठबन्धनमा कुनै प्रकारको विवाद नरहेको स्पष्ट पारे।
भ्रमणबाट फर्किएलगत्तै सञ्चारकर्मीको प्रश्नमा देउवाले सत्ता गठबन्धनमा खटपट वा असहमति नदेखिएको बताए। उनले सत्ता समीकरण परिवर्तन हुने चर्चा आधारहीन भएको जिकिर गर्दै भने, “यस्तो कुनै विषय नै छैन, गठबन्धनबीच सब ठीकठाक छ।”
परराष्ट्रमन्त्री आरजु राणाले पनि सरकार परिवर्तनको हल्लालाई हावादारी भन्दै यसलाई ‘मनोरञ्जनका लागि बनेको कथा’ भनेकी छन्। उनले भनिन्, “यो भ्रमण स्वास्थ्य परीक्षण र पारिवारिक प्रयोजनका लागि मात्रै थियो, कुनै राजनीतिक भेटघाट भएको छैन।”
पत्रकारको जिज्ञासामा उनले थपे, “सरकार परिवर्तन नेपालमै बसेर हुनुपर्ने हो, विदेशमा बसेर त हुँदै होइन नि। हामी त न्यूज हेरेर आफैँ अचम्ममा पर्यौँ।”
राणाले भ्रमणका क्रममा सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका जानकारी दिइन्। यद्यपि उक्त कुराकानीको विषय खुलाइएको छैन।
हालैका दिनमा सत्तारुढ दलहरूबीच विश्वासको संकट उत्पन्न भएको अड्कल गर्दै आएको सन्दर्भमा देउवा र राणाको स्पष्टिकरणले ती चर्चाहरूलाई केही समयका लागि रोक्ने देखिन्छ।




