काठमाडौं ।प्रतिनिधि सभाको छैठौँ अधिवेशनको आरम्भसँगै सभामुख देवराज घिमिरेले संसद्को मूल दायित्व कानून निर्माण भएको स्मरण गराउँदै त्यसमा आवश्यक गति ल्याउन सबै दलहरूलाई साझा प्रतिबद्धताको अपिल गरेका छन्।
सभामुख घिमिरेले संसद्को पहिलो बैठकमा सम्बोधन गर्दै समयमै कानुन निर्माण हुन नसक्दा जनस्तरमा असन्तुष्टिका स्वर बढ्दै गएको उल्लेख गरे। ूअसन्तुष्टिका आवाज समाधान गर्न संसद्को भूमिका महत्वपूर्ण छ,उनले भने, त्यसका लागि संसद्ले बनाउनु पर्ने कानुन यथासम्भव टुंग्याउनुपर्छ।
उनले संसद् जनताको आवाज प्रस्तुत गर्ने मञ्च भएकाले राष्ट्रिय मुद्दामा व्यापक बहस गरिनुपर्ने र जनअपेक्षाअनुसार निर्णय लिनुपर्नेमा जोड दिए। उनले बजेट अधिवेशनलाई केवल आर्थिक एजेन्डामा सीमित नराखी, शिक्षा र निजामती सेवा जस्ता महत्त्वपूर्ण विधेयकहरू पारित गर्न सक्ने अवसरका रूपमा समेत हेर्नुपर्ने बताए।
सभामुखले विद्यालय शिक्षा विधेयक र संघीय निजामती सेवा विधेयकलाई प्राथमिकताका साथ अगाडि बढाउन संघीय संसद् सचिवालयलाई निर्देशन दिएका छन्। यी विधेयकहरू अहिले सम्बन्धित समितिमा छलफलको चरणमा रहेकाले समितिको प्रतिवेदन आएलगत्तै संसदबाट पारित गर्ने कार्यसूची तयार गरिने उनले जानकारी दिए।
छलफलको निरन्तरता सुनिश्चित गर्न, समितिका बैठक नियमित गर्न र सांसदहरूलाई राजधानी बाहिरको कार्यक्रम नराख्ने वातावरण बनाउन पनि सभामुखले निर्देशन दिइसकेका छन्। अर्थ मन्त्रालयले पनि छलफलका लागि व्यवस्थापकीय स्वीकृति दिइसकेको छ।
सभामुख घिमिरेले संसद्को प्रभावकारिता बढाउन सकेमात्र लोकतन्त्र, सुशासन, जवाफदेहिता र जनउत्तरदायी शासन प्रणाली बलियो हुने बताए। “प्रभावकारी संसद्ले मात्रै सामाजिक न्याय, आर्थिक विकास र राष्ट्रिय समृद्धिलाई टेवा दिन सक्छ,” उनले भने।
बजेट, नीति तथा कार्यक्रमसँगै विधेयक पारित गर्ने कार्यभारलाई सफलतापूर्वक सम्पन्न गर्न उनले सबै सांसदलाई प्रतिबद्धताका साथ सहयोग गर्न अपिल गरेका छन्।




