राजनीति

बर्खास्तमा परेका उर्जामन्त्री तामाङले गभर्नर नियुक्तिका लागि २० करोड डिल गरेको महेश बस्नेतको आरोप

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले बर्खास्तमा परेका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ उर्फ कान्छाराम तामाङले गभर्नर नियुक्तिका लागि ‘२० करोड डिल गरेको प्रमाण फेला परेको’ दाबी गरेका छन्।

बुधबार सरकारले तामाङलाई राज्यमन्त्री पदबाट हटाएपछि बिहीबार पूर्वमन्त्रीसमेत रहेका एमाले नेता बस्नेतले तामाङविरुद्ध गम्भीर आरोप लगाएका हुन्। उनले सामाजिक संजाल फेसबुकमा एक स्टाटस सार्वजनिक गर्र्दै ठेकेदार, ऊर्जा क्षेत्रका अनियमितता र राष्ट्र बैंकको गभर्नर नियुक्तिमा आर्थिक चलखेल भएको भन्दै कडा आरोप लगाएका छन्। उनले भ्रष्टाचार विरुद्ध स्पष्ट रुपमा आवाज उठाउन आह्वान गर्दै ठेकेदार पुर्ण बहादुर, उर्फ कान्छाराम, र अन्य सम्वद्ध व्यक्तिहरूको आलोचना गरेका छन्।

बस्नेतका अनुसार कान्छारामका नाममा २० भन्दा बढी योजना कालोसूचीमा परेका छन्। उनले सेटिङमार्फत ठेक्का हात पार्ने, काम नगरी पैसा उठाउने र अलपत्र पार्ने कार्य दोहोर्याएको आरोप लगाएका छन्। अझै, उनले ऊर्जा मन्त्रालयसँग सम्वन्धित अनियमितता, अर्बौंको ठेक्कापट्टामा मिलेमतो, र कुलमान घिसिङसँगको कथित साँठगाँठको समेत उल्लेख गरेका छन्।

सबैभन्दा गम्भीर आरोप राष्ट्र बैंकको गभर्नर नियुक्तिमा २० करोडको डिल भएको प्रमाण भेटिएपछि प्रधानमन्त्रीले उनलाई बर्खास्त गरेका थिए भन्ने बस्नेतको दाबी गरेका छन् । बस्नेत भन्छन्, “जो चोर, उसकै ठुलो स्वर” भन्दै कान्छाराम अहिले मिडियामा प्रधानमन्त्री विरुद्ध अनावश्यक आरोप लगाएर नौटंकी गरिरहेको छन्।

उनले थप भने, अब समय आएको छ — भ्रष्ट र बेइमानको पर्दाफास गर्न। उनले प्रधानमन्त्रीको नेतृत्वलाई साथ दिँदै युवा पुनर्निर्माण र इमान्दार राजनीति निर्माणको पक्षमा दृढता व्यक्त गरेका छन्। “साथ दिऔं, परि आए ज्यान दिऔं,” भनेर उनले अन्त्य गरेका छन्। सो विषय मिडियामा केहिदिनअघि देखि नै केही बाछिट्टाहरु आएका थिए ।

बर्खास्तमा परेका तामाङले हालै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हटाइप्रति असन्तुष्टि जनाउँदै सार्वजनिक रूपमा सरकारको आलोचना गरेका थिए। सरकारभित्रै बसेर सार्वजनिक रूपमा यस्तो विरोध गर्नु उचित नभएको भन्दै प्रधानमन्त्री ओलीले उनलाई बर्खास्त गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *