
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार सञ्चालनमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन्। नयाँ वर्ष २०८२ को अवसरमा सुरक्षा बिटमा कार्यरत पत्रकारहरूसँगको भेटघाटमा उनले शिक्षा मन्त्रीको राजीनामा र गभर्नर नियुक्तिको विषयलाई लिएर सत्ता साझेदारीमा कुनै आशङ्का नगर्न आग्रह गरे।
सञ्चारकर्मीहरूको जिज्ञासामा गृहमन्त्री लेखकले भने, “सरकारमा कुनै त्यस्तो समस्या छैन, गभर्नर सिफारिसका लागि गठन भएको सर्च कमिटीको एक सदस्यले राजीनामा गर्नुभएको छ। फेरि त्यसलाई पूर्णता दिएर अघि बढ्नुपर्ने हुन्छ। आउँदो मन्त्रिपरिषद् बैठकमा छलफल गरेर त्यसलाई पूर्णता दिन्छौँ।”
गृहमन्त्री लेखकले सुदृढ शान्ति सुरक्षा, सक्षम गृह प्रशासन र साधनस्रोत सम्पन्न सुरक्षा निकाय आफ्नो उच्च प्राथमिकतामा रहेको बताए। उनले कानुनी र नीतिगत सुधारलाई पनि आफूले समानान्तर रूपमा अघि बढाइरहेको जानकारी दिए। नीतिगत सुधारबिना सुशासनको कल्पना गर्न नसकिने भन्दै उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी ऐन संसदीय समितिमा छलफलका लागि पुगिसकेको बताए। मन्त्रालय जग्गा प्राप्ति, संस्था दर्ता र समाज कल्याणसम्बन्धी ऐन परिमार्जनको तयारीमा जुटेको पनि उनले जानकारी दिए।
“हज र नागरिकतासम्बन्धी नियमावली मन्त्रिपरिषद्मा पुगेको छ, कारागारसम्बन्धी नियमावली आजै मन्त्रिपरिषद्मा लैजाने गरी निर्णय भएको छ,” उनले भने, “अन्य महत्वपूर्ण कानुन चाँडै संसद्मा लगिनेछ।”
अध्यागमन प्रशासनलाई सुधार गर्न छुट्टै मापदण्ड बनाउन आफूले निर्देशन दिएको उल्लेख गर्दै पछिल्ला समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट प्रवाह हुने सेवामा सुधार आएको उनले स्पष्ट पारे। मातहतका निकायबाट कार्यसम्पादनका क्रममा कहिलेकाहीँ कमजोरी हुन सक्ने स्वीकार्दै उनले त्यसबाट पाठ सिकेर अघि बढ्ने बताए। लोकतन्त्रमा आलोचना स्वीकार्य भएको जनाउँदै गृहमन्त्री लेखकले कमीकमजोरी औँल्याएर सहयोग गर्न सञ्चारकर्मीहरूसँग आग्रह गरे।
गृहमन्त्री लेखकले गत चैत १५ गते राजधानीको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनको छानबिन भइरहेको जानकारी दिए। सुरक्षा व्यवस्था कायम गर्न अपनाइएका विधिबारे प्रहरीले आन्तरिक छानबिन गरिरहेको पनि उनले बताए। “सो घटनाका सम्बन्धमा समग्रतामा छानबिन भइरहेको छ, प्रहरी घटनाको वास्तविकताको तहसम्म पुग्छ, निश्पक्ष, स्वतन्त्र, व्यावसायिक र गहिरोसँग छानबिन हुन्छ,” उनले भने। उक्त प्रदर्शनमा ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहत प्रदान गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए।
कस्मिर घटनामा रुपन्देहीका सन्दिप न्यौपानेको निधन
गृहमन्त्री लेखकले भारतको कस्मिर क्षेत्रमा भएको घटनामा नेपाली युवा सन्दिप न्यौपानेको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए। नेपालमै इन्जिनियरिङ अध्ययन गरिरहेका न्यौपाने पारिवारिक भ्रमणमा रहेका बेला आक्रमणमा परी निधन भएको उनले जानकारी दिए। घटनाको यथार्थ बुझ्न दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकिएको पनि उनले बताए।
आन्दोलनरत शिक्षकका मागका सम्बन्धमा विभिन्न कोणबाट छलफल भइरहेको जानकारी दिँदै गृहमन्त्री लेखकले तत्काल पूरा गर्न सम्भव मागलाई सम्बोधन गरेर जाने तयारी भइरहेको स्पष्ट पारे। “शिक्षा विधेयकलाई चाँडोभन्दा चाँडो पारित गर्ने, शिक्षकसँग वार्ता र संवादमार्फत आन्दोलनलाई सम्बोधन गर्ने पक्षमा छौँ,” उनले भने, “सरकार शिक्षकसँग छलफलमै छ।”