राजनीति

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सोमबार बेलुका ५ बजेबाट सुरु भएको बैठकमा शिक्षक आन्दोलनका विषयमा केन्द्रित छलफल हुने अपेक्षा गरिएको छ।

लगातार २० दिनदेखि जारी आन्दोलनसँगै शिक्षकमन्त्रीको राजीनामाले सरकारलाई थप दबाबमा पारेको छ। आन्दोलनरत शिक्षकहरूका मागमा चित्तबुझ्दो पहल नहुँदा भट्टराईले पदबाट हात झिकेकी हुन्।

सरकारले शिक्षकमाथिका विधेयकसम्बन्धी माग संसदको वैशाख १२ गते सुरु हुने अधिवेशनमार्फत सम्बोधन गर्ने आश्वासन दिँदै आएको छ। तर, शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले ऐन नआएसम्म आन्दोलन नरोकिने प्रष्ट पारेका छन्।

“अनुशासन र मर्यादासहित आन्दोलन निरन्तर जारी रहनेछ,” सुवेदीले बताएका छन्।

सरकारले आन्दोलन समाधान गर्न विभिन्न स्तरमा संवाद प्रयास जारी राखेको भए पनि ठोस निर्णयमा पुग्न नसक्दा आन्दोलन झनै चर्किएको छ। यस्तो परिस्थितिमा बसेको मन्त्रिपरिषद् बैठकले शिक्षक आन्दोलनका माग सम्बोधनबारे महत्वपूर्ण निर्णय लिने अनुमान गरिएको छ।

साथै, बैठकमा अन्य प्रशासनिक विषयहरूबारे पनि छलफल हुने सरकारी स्रोतले जानकारी दिएको छ। शिक्षामन्त्रीको राजीनामापछि बनेको राजनीतिक वातावरणमा अब मन्त्रिपरिषद्को निर्णय कस्तो आउँछ भन्नेमा सबैको ध्यान केन्द्रित छ।

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *