काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएको उनको निजी सचिवालयले पुष्टि गरेको छ।
शिक्षकहरूले विभिन्न माग राख्दै देशव्यापी आन्दोलन चर्काइरहेका बेला भट्टराईले राजीनामा दिनु राजनीतिक रूपमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
पछिल्ला दिनमा आन्दोलन समाधानको दिशा स्पष्ट नहुँदा शिक्षामन्त्री भट्टराई र प्रधानमन्त्री ओलीबीच मतभेद चुलिएको थियो। यही परिस्थितिमा उनले राजीनामा दिएको बुझिएको छ।
भट्टराईको राजीनामासँगै शिक्षक आन्दोलनको राजनीतिक प्रभाव झन् चर्किंदै जान सक्ने अनुमान गरिएको छ। अब सरकार शिक्षामन्त्रीको नयाँ नियुक्तिको तयारीमा जुट्ने देखिएको छ।




