राजनीति

रास्वपामा आन्तरिक संकट : सुमना श्रेष्ठपछि थप पाँच नेता राजीनामाको तयारीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक असन्तोष झनै गहिरिंदै गएको छ। सहमहामन्त्री सुमना श्रेष्ठले राजीनामा दिएसँगै, पार्टीका थप पाँचजना नेताहरू पनि आफ्ना जिम्मेवारी त्याग्ने तयारीमा रहेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार सभापति रवि लामिछानेप्रति असन्तुष्टि राख्दै आएका ती नेताहरू मुकुल ढकाललाई प्रमुख भूमिकामा ल्याइने आशंकाले चुपचाप रहेका थिए। तर सुमनाको राजीनामाले उनीहरूलाई खुलेर बोल्ने हिम्मत दिएको बुझिएको छ।

कार्यवाहक सभापति डिपी अर्यालको नेतृत्वशैलीप्रति पनि ती नेताहरू असन्तुष्ट छन्। पोखराको आन्दोलन निष्कर्षविहीन भएपछि, केही सांसदहरूले पार्टीभित्र नयाँ ढंगले अघि बढ्नुपर्ने बताउँदै आएका छन्।

“पहिले तीनजना मात्र असन्तुष्ट थिए, अहिले त्यो संख्या ६ पुगेको छ,” स्रोत भन्छ, “सुमना खुलेर आइन्, अरू पनि चाँडै खुल्नेछन्।”

सुमनाको राजीनामा स्वीकृत भइनसकेको अवस्थामा, कार्यवाहक सभापति अर्यालले व्यक्तिगत छलफलको प्रयास गर्दै ‘दुई चार जना बसौं न’ भन्दै सुमनालाई बोलाएका छन्। यसलाई औपचारिक बैठक नभई अनौपचारिक संवादको रुपमा लिइएको छ।

संसदमा प्रभावशाली उपस्थिति देखाएकी सुमनाको बहिर्गमनले पार्टी छविमा असर पर्ने आँकलन पार्टीभित्र गरिएको छ। हालै उनले स्वतन्त्र धारका नेता बालेन साहलगायतसँग संवाद बढाउँदै नयाँ राजनीतिक समीकरण तयार गर्ने संकेतसमेत देखिएको छ।

राजतन्त्रबारे स्पष्ट धारणा सार्वजनिक गर्न रास्वपालाई नेता तथा कार्यकर्ताको दबाब

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *