राजनीति

सुदूरपश्चिममा एमालेभित्र गहिरिँदो सत्ता संघर्ष, रावल हटाउन लेखराज र कर्ण एक ठाउँमा

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको आन्तरिक राजनीति उत्कर्षमा पुगेको छ। पार्टीभित्रका प्रमुख नेताहरूबीचको शक्ति संघर्ष खुल्ला टकरावमा परिणत हुँदै गएको छ।

प्रदेश इञ्चार्ज लेखराज भट्ट र संसदीय दलका नेता राजेन्द्रसिंह रावलबीच लामो समयदेखि चलिरहेको विवाद अहिले निर्णायक मोडमा पुगेको छ। रावललाई दलको नेताबाट हटाउने तयारी गर्दै लेखराजलाई स्थायी समिति सदस्य कर्ण थापा र कैलाली इञ्चार्ज नारदमुनि रानाले साथ दिएका छन्।

यी नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै रावलको गतिविधिले पार्टीलाई क्षति पुगिरहेको भन्दै उनलाई तत्काल हटाउन आग्रह गरेका छन्। “रावललाई हटाउनु नै पार्टीका लागि हितकर हुन्छ,” ओलीसँगको भेटमा भनिएको थियो।

नीति तथा योजना आयोगमा गरिएको नियुक्तिले झनै विवाद बढाएको छ। प्रदेश इञ्चार्ज भट्टले नेत्रप्रकाश पन्तलाई नियुक्त गर्न चाहँदा, दल नेता रावलले डा. हिरा चन्दलाई अगाडि सारेपछि मनमुटाव थपिएको हो।

पार्टीभित्र रावलप्रति असन्तुष्टि सांसदहरूमाझ पनि फैलिएको छ। केही प्रदेशसभा सदस्यहरूले रावलको गतिविधि “पार्टीविरोधी” भएको भन्दै चैत ३० को बैठकमा आलोचना गरेका थिए। अहिले उनलाई हटाएर उपनेता सन्तोष शर्मा थापालाई नेता बनाउने तयारी भइरहेको चर्चा छ। तर थापा अध्यक्ष ओलीसँग निकट नभएकाले अन्य नामहरू पनि समीक्षामा छन् — जस्तै धर्मराज पाठक र चक्र मल्ल।

तर, नेता परिवर्तन सहज नहुन सक्ने विश्लेषण पनि एमालेभित्र छ। सुदूरपश्चिममा तीन उपगुट सक्रिय छन् — एक लेखराज भट्ट नेतृत्वको ९पूर्व माओवादी०, अर्को दामोदर भण्डारी समूह, र तेस्रो कर्ण थापा समूह। यिनै गुटगत गणितले नयाँ नेता चयन प्रक्रिया अझै पेचिलो बनाएको छ।

एमएलई सुदूरपश्चिमका एक नेताले भने, “दामोदर भण्डारी रावलको समर्थनमा छन्, रावललाई सन्तुलनमा राख्न सक्ने एक्ला नेता उनी नै हुन्। त्यसैले उनी समर्थन नगरेसम्म नेता परिवर्तन गाह्रो हुन्छ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *