काठमाडौं । नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशन नेतृत्व चयनभन्दा बढी गुटगत द्वन्द्वका कारण चर्चामा छ। अधिवेशनमा संस्थापन पक्ष (केपी शर्मा ओली समूह) र इतर पक्ष (विद्या भण्डारी समर्पित)बीचको असमझदारी खुलेर देखिएको छ।
अधिवेशन उद्घाटनकै दिन नेताहरुबीच बोल्न नपाएको विषयलाई लिएर तनाव देखिएको हो। पूर्वअध्यक्ष केपी ओली नजिक रहेका तर अहिले विद्या भण्डारीको पक्षमा उभिएका नेता विनोद ढकाल कार्यक्रममा झोँकिएर बाहिरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। ढकालले आफूलाई मंचमा बोल्न नदिएको आरोप लगाए भने ओली पक्षका नेता पर्शुराम बस्नेतले ‘कार्यक्रम छोट्याउन’ बोल्ने नाम सीमित गरिएको दाबी गरे।
ढकालले सार्वजनिक रूपमा एमालेको वर्तमान नेतृत्वलाई एकपक्षीय भन्दै आलोचना गरेका छन्। उनले कार्यक्रममा वैधानिक–अवैधानिक भन्ने भाषाको प्रयोगले असहज बनाएको आरोप लगाए। बस्नेत भने ढकालको आरोपप्रति असहमत छन् र आफूले कसैको ‘मानमर्दन’ नगरेको दाबी गर्छन्।
विवाद एमाले विराटनगर महानगरभित्रको पुरानो राजनीतिक द्वन्द्वको निरन्तरता हो, जसको सुरुवात मानगढ खानेपानी समितिको चुनावमा पार्टी उम्मेदवारविरुद्ध बागी उम्मेदवार उठाउने घटनाबाट भएको थियो।
अहिलेको अधिवेशनमा पनि गुटगत प्रतिस्पर्धा प्रस्ट देखिन्छ। अध्यक्षका लागि रोहित कोइराला (ओली पक्ष) र बलराम गिरी (भण्डारी पक्ष) बीच प्रतिस्पर्धा हुँदैछ। १०१ सदस्यीय कमिटी चयनका लागि ३१५ जना प्रतिनिधि मतदानमा सहभागी हुँदैछन्।
अधिवेशनले एमालेभित्रको शक्ति संघर्षलाई झन् उजागर गरेको छ । नेतृत्वको प्राथमिकताभन्दा पनि गुटीय स्वार्थले प्राथमिकता पाइरहेको अधिवेशनको क्रियाकलापबाट प्रष्टै हुन्छ ।




