देश

चन्द्रप्रसाद न्यौपाने निष्ठावान लोकतन्त्रवादी : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय चन्द्रप्रसाद न्यौपानेलाई पार्टीको निष्ठावान, संघर्षशील र लोकतान्त्रिक मूल्यमान्यताप्रति समर्पित अनुयायीको रूपमा स्मरण गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित जिल्ला विकास समिति गोरखाका पूर्वसभापति एवं नेपाली काँग्रेसका नेता स्व. चन्द्रप्रसाद न्यौपानेको प्रथम वार्षिक स्मृति सभामा ‘चन्द्रप्रसाद न्यौपाने स्मृति ग्रन्थ’ लोकार्पण गर्दै सभापति देउवाले स्वर्गीय न्यौपानेको योगदानको चर्चा गरे।

उनले स्व. न्यौपाने र उनको परिवारले नेपालको राजनीति र प्रजातान्त्रिक आन्दोलनमा पुर्‍याएको महत्वपूर्ण योगदानको स्मरण गर्दै भने, “मैले चन्द्रप्रसाद न्यौपानेलाई नेपाली काँग्रेसको एक निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी साथीको रूपमा चिनेको छु। उहाँहरूको परिवारको नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो भूमिका रहेको छ। आफ्ना दाजुको पदचाप पछ्याउँदै चन्द्रप्रसादजीले नेपाली काँग्रेसमा सक्रिय भएर काम गर्नुभयो।”

सोही कार्यक्रममा सभापति देउवाले स्वर्गीय न्यौपानेका दाजु कृष्णप्रसाद न्यौपानेसँग आफ्नो जेलमा भेट भएको स्मरण गर्दै उनको अडिग र जुझारु व्यक्तित्वको प्रशंसा गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *