काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले लोकतन्त्र दिवस (वैशाख ११) लाई विशेष रूपमा मनाउने तयारी गरेको छ। लोकतन्त्रका लागि निर्णायक दिनको सम्झनामा एमालेले ‘युवा महोत्सव’ आयोजना गर्दै काठमाडौँमा एक लाखभन्दा बढी युवालाई उतार्ने घोषणा गरेको छ।
पार्टीको भ्रातृ संगठन युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेका अनुसार सो दिन देशभरबाट कम्तीमा एक लाख युवाहरू काठमाडौँमा भेला हुनेछन्। कार्यक्रम काठमाडौंको भृकुटीमण्डप वा टुँडिखेलमध्ये कुनै एक स्थानमा हुने भनिएको छ।
“लोकतन्त्रको सेलिब्रेशन गर्ने अवसर हो। त्यही क्रममा युवाहरूको सहभागिता सुनिश्चित गर्दै उनीहरूलाई सम्मान र स्पेस दिन चाहन्छौं,” अध्यक्ष थेवेले जानकारी दिए। युवा संघका उपाध्यक्ष कृष्णहरि केसीका अनुसार सो दिन हुने युथ समिट मा युवाका मुद्दा, समस्या र सम्भावनाबारे संवाद हुने छ। एजेन्डा उठ्छ, छलफल हुन्छ र सम्भव भएसम्म समाधानको दिशातर्फ बढ्ने प्रयास गरिन्छ, उनले भने।
प्रधानमन्त्री ओलीको सन्देश ः युवा जानु शक्ति देखाउने दिन
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि वैशाख ११ को कार्यक्रमलाई ‘शक्तिप्रदर्शन’को अवसरका रूपमा लिएका छन्। उनले बुटवलमा आयोजित कार्यक्रममा भने, “म देशभरका युवाहरूलाई वैशाख ११ गते काठमाडौँमा हुने युवा महोत्सवमा सरिक हुन आह्वान गर्छु। त्यहाँबाट प्रतिक्रियावादी र अराजकतावादीहरूले आफ्नै आँखाले हेर्नेछन्—युवा शक्ति के हो र एमालेको शक्ति कस्तो हो।” ओलीका अनुसार यो महोत्सव कुनै साधारण सम्मेलन होइन, ‘सम्मिलन’ हो, जसले युवा चेतना, सङ्गठन र ऊर्जा प्रस्तुत गर्नेछ।
इतिहासको पृष्ठभूमि : लोकतन्त्र दिवसको स्मृति
२०६२/६३ को ऐतिहासिक जनआन्दोलनको सफलतासँगै वैशाख ११ गते निरंकुश राजतन्त्रको अन्त्य भएको थियो। सो दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले जनदबाबमा प्रतिनिधि सभाको पुनःस्थापना घोषणा गर्दै दलहरूको मार्गचित्रअनुसार अगाडि बढ्ने जनाएका थिए।
त्यही ऐतिहासिक दिनको सम्झनामा एमालेले युवाको जोश, जागरण र संकल्प प्रस्तुत गर्दै लोकतन्त्र दिवसलाई ‘युवा उत्सव’का रूपमा मनाउने तयारी गरेको हो।
लोकतन्त्र दिवसको अवसरमा एमालेले आयोजना गर्न लागेको यो युवा महोत्सव केवल सांस्कृतिक वा औपचारिक कार्यक्रम होइन, राजनीतिक रूपमा पनि एक प्रकारको शक्ति प्रदर्शन हो। यो आन्दोलनको स्मृति र भविष्यको संकल्प दुवैको मिश्रण बन्ने देखिएको छ। अब हेर्न बाँकी छ—के एक लाख युवा सचेतनाको सन्देश बोकेर राजधानीमा उत्रन्छन् त?




