काठमाडौं । समाजवादी मोर्चाले राजावादी मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र राप्रपाको नेतृत्वमा चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनको क्षतिपूर्ति आन्दोलनकारीबाटै भराउनुपर्ने माग गरेको छ।
सोमबार बसेको मोर्चाको बैठकले आन्दोलनका क्रममा भएको क्षतिको जिम्मेवारी राजावादी पक्षले लिनुपर्ने निर्णय गरेको नेकपा ९विप्लव समूह० का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जानकारी दिए।
‘पूर्वनियोजित रूपमा गरिएको प्रदर्शनका कारण धेरै क्षति भएको छ,’ उनले भने, ‘सरकारले क्षतिको यथार्थ विवरण सार्वजनिक गरी क्षतिपूर्ति भराउने पहल गर्नुपर्छ।’
यस्तै, मोर्चाले गणतन्त्रका पक्षधरहरूबीच निरन्तर अन्तरक्रिया र परामर्श गर्ने निर्णय पनि गरेको छ। देशलाई अराजकतातर्फ धकेल्ने प्रयास भइरहेको भन्दै नेता प्रकाण्डले युवाहरूलाई सचेत गराई गणतन्त्रको संरक्षणका लागि सक्रिय हुन आग्रह गरे।
उनका अनुसार समाजवादी मोर्चाले चैत १५ गते गरेको प्रदर्शन र सभाले राजावादीहरूको आन्दोलनलाई रक्षात्मक अवस्थामा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ। सरकारले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गरी तीनकुने क्षेत्रमा चैत्र १५ गते भएको हिंसात्मक आन्दोलनका मुख्य नाइकेहरुको समुह र राजावादी नेता तथा कार्यकर्ताहरुले तिर्नुपर्ने र आगामी दिनमा त्यस्ता उश्रृङखल गवितिधिमा समेत नलाग्न सरकारले राजावादीहरुलाई आग्रह गरेको छ ।




