
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले महानगरपालिकाको जरिवाना पत्र बुझ्न अस्वीकार गरेपछि नगर प्रहरीले हुलाकमार्फत पत्र पठाएको छ। नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार, पत्र बुझ्ने टोलीलाई निर्मल निवासमा प्रवेश गर्न नदिएपछि हुलाकमार्फत पठाउने निर्णय गरिएको हो।
यसअघि, डीएसपी पूर्णचन्द्र भट्टको नेतृत्वमा महानगर प्रहरीको टोली पत्र बुझाउन पुगेको थियो। तर, पूर्वराजा शाहले पत्र नबुझ्ने अडान लिएपछि टोलीले फर्कनुपरेको थियो।
महानगरपालिकाले गत शुक्रबारको घटनामा भएको क्षतिको हिसाब गर्दै ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ। यो रकम असुलीका लागि ९ वटा शीर्षकमा ८ वटा पत्र पठाइएको महानगर स्रोतले जनाएको छ।