काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले कुलमान घिसिङलाई हटाएर प्राधिकरणको कार्यकारी प्रबन्ध निर्देशकमा शाक्यलाई नियुक्ति गरेको विषयलाई लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भ्रम नफैलाउन आग्रह गरेका छन् ।
मंगलबार राजधानीमा आयोजित ‘म र सानोबुबा’ पुस्तक विमोचन समारोहमा बोल्दै ओलीले कुलमान घिसिङलाई उज्यालो ल्याउने नायक का रूपमा चित्रण गर्नु भ्रामक भएको टिप्पणी गरे। उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको महाकाव्य ‘प्रमिथश’ को पात्रसँग कुलमानको तुलना गरिनु अतिरञ्जित भएको बताए।
“जादु होइन, वर्षौंको मेहनतको नतिजा हो” ओलीले कटाक्ष गर्दै भने, “के घिसिङ नियुक्त हुनेबित्तिकै बिजुली बोकेर आएका थिए ? लोडसेडिङ अन्त्य कुनै एक व्यक्तिको चमत्कार होइन, यो निरन्तरको योजना र सामूहिक मेहनतको परिणाम हो।”
उनले कार्यकारी निर्देशकको भूमिकालाई संस्थागत निरन्तरता र योजनाको कार्यान्वयनका रूपमा हेर्नुपर्ने धारणा राखे। “शाक्यलाई काम गर्न नदिने प्रचण्ड, अहिले प्रश्न उठाउन लायक छैनन्” ओलीले माओवादी अध्यक्ष प्रचण्डमाथि प्रहार गर्दै हितेन्द्रदेव शाक्यलाई आफैंले प्रधानमन्त्री हुँदा काम गर्न नदिएको आरोप लगाए। “उहाँहरूले नै शाक्यलाई निष्क्रिय बनाए, अहिले आएर प्रश्न गर्ने अधिकार छैन,” ओलीले भने।
उनले घिसिङलाई महिमामण्डित गर्ने र शाक्यको क्षमतामाथि प्रश्न उठाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाए। “विगतमा कसले कसलाई रोक्यो भन्ने तथ्य लुकाएर अहिले नाटक गर्नु सह्य हुँदैन,” प्रधानमन्त्री ओलीले थपे।




