काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फागु पर्व (होली) को अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपाली समाज होलीका रङहरू जस्तै विविधताले भरिएको बताएका छन् ।
उनले होलीमा खेलिने विविध रङहरूले नेपालीको विविधताबीचको एकतालाई प्रतिबिम्बित गर्ने र यही एकता नै हाम्रो विशिष्ट पहिचान भएको उल्लेख गरे। हिमाल, पहाड र तराईमा हर्षोल्लासका साथ मनाइने यो पर्वले सबैलाई एकताबद्ध गर्ने उनको भनाइ छ।
“फागु पर्व हाम्रो धार्मिक र सांस्कृतिक पर्व हो। अन्यायमाथि न्यायको विजयको सन्देश दिने यो पर्वलाई नेपाली समाजले पारिवारिक स्नेह, एकता र सद्भावका साथ मनाउँदै आएको छ,” देउवाले भने, “यस अवसरमा मेरो र पार्टीको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु।”
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आएको यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास उनले व्यक्त गरे। यसले पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्ने उनको भनाइ छ।




