
काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष ई.दीपक साहले पार्टीलाई स्पष्टीकरण बुझाएका छन् । पार्टीले अनुशासनहीन काम गरेको भन्दै पार्टीको अनुशासन समितिले फागुन २१ गते उपाध्यक्ष साहलाई ११ बुँदे सोधेको स्पष्टीकरण जवाफ उनले मंगलबार अनुशासन विभागलाई बुझाईसकेको छ ।
अनुशासन समितिकी सदस्य सचिव अनिता मण्डलका अनुसार उपाध्यक्ष साहले स्पष्टीकरण बुझाई सकेका छन् । ह्वाटसअपमा उनको स्पष्टीकरण प्राप्त भएको बताउँदै उनले केन्द्रीय समितिको बैठक चलिरहेका कारण स्पष्टीकरण पत्रलाई अध्ययन गर्न नसकेको उनको भनाइ छ । उनको स्पष्टीकरण समितिमा राखेर छलफल हुने र त्यसपछि बाँकी प्रक्रिया अगाडि बढ्ने उनले बताइन् ।
उपाध्यक्ष साहले आफूमाथि लगाएको आरोपलाई पुष्टि गर्न र त्यसको प्रमाण दिन अनुशासन समितिलाई चुनौती दिएका छन् । अनुशासन समितिको संयोजकबाट निलम्बित उनले आफूमाथि लागेको सबै आरोप कपोकल्पित र भ्रमपूर्ण रहको भन्दै त्यसलाई प्रमाणित गर्न चुनौती दिएको स्रोतले बताए ।
पूर्वाग्रही तथा व्यक्तिगत स्वार्थलाई केन्द्रबिन्दुमा राखेर भ्रमपूर्ण र तथ्यहीन आरोपसहित स्पष्टीकरणलाई सोधिएको भन्दै उपाध्यक्ष साहले त्यसलाई खारेज गरेका छन् र उल्टै प्रमाणित गर्न भनेका छन् ।
उपाध्यक्ष साहमाथि यसअघि पनि पार्टीका अध्यक्ष डा.सिके राउतले विभिन्न आरोप लगाइरहेका थिए । अध्यक्ष राउतलाई आरोपलाई प्रमाणसहित पुष्टि गर्न आग्रह गर्दा समेत पुनः स्पष्टीकरण सोधेको सो पाटीका एक सदस्यले बताए । उपाध्यक्ष साहले आफूमाथि अध्यक्ष राउतले विगत ६–७ महिनादेखि षड्यन्त्र गरेको कुरा पार्टीका नेता तथा कार्यकर्ताबाट थाहा पाएको समेत स्पष्टीकरणमा उल्लेख गरिएको स्रोतको दाबी छ ।
उपाध्यक्ष साह स्रोतका अनुसार अध्यक्ष राउतले आफूलाई बर्बाद गरिदिनेसम्मको धम्की दिएको आरोप लगाएका थिए । उपाध्यक्ष जस्तो पदमा बसेर पार्टीमा समय नदिएको, पार्टीका महत्त्वपूर्ण बैठकमा समय नदिएको, पार्टीको सचिवालयमा रहेर पनि जागिरबाट राजीनामा नदिएको, सचिवालय सदस्यले प्रत्यक्ष निर्वाचन लड्नुपर्ने आदि जस्ता निर्णयलाई उल्लङ्घन गरेको जस्ता आरोप उपाध्यक्ष साहमाथि लगाइएको छ ।
जनमत पार्टी घोषणा हुँदा जागिर खाएर पहाडमा बसेको, पार्टी दर्ता गर्ने बेलामा काठमाडौँमा हुँदा पनि उपस्थित नभएको, राष्ट्रिय अध्यक्ष महिनौँ जेल बस्दा पनि सङ्गठनको कुनै मतलब नगरी जागिर खाएर बसिदिने जस्ता आरोप उनीमाथि लगाइएको छ ।
किसान आन्दोलनको क्रममा पनि कतै नदेखिएको, २०७९ को चुनावमा कतै नदेखिएको, आफ्नो मत पनि पार्टीलाई नदिएको जस्ता उपाध्यक्ष साहमाथि आरोप लगाएको छ । सो विषयमा अध्यक्ष राउतले कस्तो जवाफ देलान ? भन्ने विषय अहिले चर्चा पाएको छ ।