देश

‘मौन’ षड्यन्त्र ज्ञानेन्द्रको ‘नाटक’, राजावादी ‘बलिको बोको’

काठमाडौं । पोखरामा एक महिना बसेपछि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै निर्मल निवास प्रस्थान गरेका उनी समर्थकहरूको नाराबाजीका बीच मौन देखिए।

विमानस्थलको मुख्य प्रवेशद्वार (गोल्डेन गेट) अगाडि जम्मा भएका हजारौँ समर्थकले ‘हाम्रो राजा, हाम्रो देश’ भन्दै स्वागत गरे। पूर्वराजाले गाडीबाटै हात हल्लाएर अभिवादन गरे पनि कुनै सम्बोधन गरेनन्।

राजावादीहरूले पूर्वराजाले छोटो सम्बोधन गर्ने अपेक्षा गरेका थिए। तर, दरबारनिकट ज्योतिषहरूले साइत हेर्दै आज मौन बस्न सल्लाह दिएका कारण उनले केही नबोलेको बताइएको छ। शुभ साइत कुर्नुपर्ने सुझावका कारण उनी केवल ‘नमस्ते’ गर्दै चुपचाप निवास फर्किएको स्रोतको दाबी छ।

त्यसो त, हिमानी शाह निकट ज्योतिष हरिहर अधिकारीले आज यात्राका लागि साइत राम्रो नरहेको बताएका थिए। उनका अनुसार, ‘चन्द्रमा मिथुन राशिमा रहेकाले यात्रा गर्न उपयुक्त समय होइन।’ उनले पोखराबाट काठमाडौं फर्किनुअघि पूर्वराजालाई दही खुवाउने तयारी भएकोसमेत उल्लेख गरेका थिए।

राजावादी दल र विभिन्न समूहले पूर्वराजाको स्वागतका लागि विशेष तयारी गरेका थिए। तर, ज्योतिषीय सल्लाहका कारण पूर्वराजाले आज कुनै प्रतिक्रिया नजनाउने निर्णय गरेको स्रोत बताउँछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *