सुर्खेत । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने स्पष्ट पारेका छन् । आइतबार बिहान सुर्खेतमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले गणतन्त्रलाई नै नेपालको स्थायी राजनीतिक प्रणाली भएको दोहोर्याएका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै गृहमन्त्री लेखकले लोकतान्त्रिक व्यवस्थाले दिएका स्वतन्त्रताको सम्मान गर्न आग्रह गरे । ‘फालिसकेको राजसंस्था लोकतन्त्रको उपयोग गरिरहेको छ, यसलाई कमजोरीका रूपमा लिनु आवश्यक छैन,’ उनले भने ।
लेखकले केही समूहले गणतन्त्रको विकल्प राजतन्त्र नै हो भन्ने भ्रम फैलाउने प्रयास गरिरहेको दाबी गर्दै पूर्वराजालाई यस्ता अफवाहबाट प्रभावित नहुन चेतावनी दिए । उनले थपे, ‘आन्दोलनबाट फालिएको राजसंस्था आफ्नै देशमा पूर्ण स्वतन्त्रतासहित बस्न पाएको उदाहरण विरलै पाइन्छ । नेपालमा यो सम्भव भएको छ, जुन लोकतन्त्रकै उपलब्धि हो ।’
नेपालमा संविधानसभाबाट प्राप्त गणतन्त्रलाई नै सही बाटो मान्नुपर्ने गृहमन्त्री लेखकले उल्लेख गर्दै यसको सट्टा राजतन्त्र पुनःस्थापनाको कल्पना गर्नु व्यर्थ रहेको धारणा व्यक्त गरे ।




