काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीभित्र अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल, र सम्मानित नेता झलनाथ खनाल बीच आन्तरिक विवाद चुलिँदै गएको छ। पार्टीभित्रको मुख्य विवाद पार्टीको नेतृत्व चयन, कार्यविभाजन, र पदाधिकारीहरूको जिम्मेवारीका विषयमा प्रश्न खडा भएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी नेता–कार्यकर्ताका लागि तीन पेजको आचारसंहिता प्रस्ताव गरेका छन् । आज ९शुक्रबार० बाट सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालले १३ बुँदाको आचारसंहिता प्रस्ताव गरेका हुन् ।
बैठकमा प्रस्ताव गरिएको यो आचारसंहिता केन्द्रीय समितिले पारित गरेको दिनदेखि प्रारम्भ हुने भनिएको छ। जसको पालनकर्ता पार्टीका सबै नेता–कार्यकर्ता हुने भनिएको छ । आचारसंहितामा मार्गदर्शन सिद्धान्त, मूल्यमान्यता, आचरण, नैतिकता, व्यवहार, जिम्मेवारी बहन, जबाफदेहितालगायतका विषय राखिएका छन् ।
आचारसंहितामा भनिएको छ, ‘पार्टीका आन्तरिक छलफलमा हरेक सदस्यले स्वतन्त्रतापूर्वक पार्टीका हरेक विषयमा बोल्न र मत राख्न पाइन्छ तर पार्टी निर्णयविरुद्ध आफ्नो पार्टी कमिटी भन्दा बाहिर गएर बोल्न र मत राख्न पाइँदैन । आफ्नो फरक मत वा धारणा भए पनि पार्टी निर्णयको अवज्ञा गर्न पाइँदैन । पार्टी निर्णय लागू गर्नु पर्दछ । अरूका विचारको सम्मान गर्नु पर्दछ । यही हो जनवाद र अनुशासनको सन्तुलन वा सीमा । यस सीमाभित्र रहनु सबैको कर्तव्य हो, यसलाई नाघ्नु दण्डनीय हुन्छ ।’
सम्मानित नेता झलनाथ खनालले पार्टी संस्थागत र विधिगत रूपमा चल्न नसकेको भन्दै अध्यक्ष माधव नेपालको कटाक्ष गरेका छन् । शुक्रवारबाट जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता खनालले पार्टी निकट विद्यार्थी सङ्गठन र युवा सङ्घमा गम्भीर समस्या देखिएकाले त्यसको निकास विधि र प्रक्रिया बमोजिम दिनुपर्नेमा जोड दिए ।
उनले जनसङ्गठनहरूमा ‘टिके प्रथा’ सुरु भएको भन्दै अबदेखि ‘टिके प्रथा’ सदाका लागि अन्त्य गर्नुपर्ने धारणा राखेका छन् । सम्मानीत नेता खनालले कुनै पनि पार्टी र सङ्घ सङ्गठन संस्थागत, विधिगत रूपमा चल्न नसक्दा समस्या उत्पन्न भएको उल्लेख गर्दै अबदेखि टिके प्रथा सदाका लागि अन्त्य हुन जरुरी रहेको स्पष्ट पारेका छन् । पार्टीभित्र अन्य समस्याहरू पनि रहेको खनालको भनाइ छ ।
पार्टीभित्र देखिएका समस्या कसले हल गर्ने भन्दै नेता खनालले अध्यक्ष नेपाललाई प्रश्न गरेका छन् । उनले भने,‘ स्थायी कमिटीको बैठकले पार्टी र जनसङ्गठनबिच महाधिवेशनपछि गर्नुपर्ने विभिन्न कार्य विभाजनका सिलसिलामा हिजो जे जिम्मेवारी थियो त्यसबाट अन्यत्र जिम्मेवारी दिएर हेरफेर गरेको कुरामा केही भन्नु छैन । जनसङ्गठनहरूलाई नीति, सिद्धान्त र कार्यक्रमअनुसार परिचालन गर्नुपर्नेमा जोड दिए । जनसङ्गठनले पार्टीको वैचारिक राजनीतिक कार्यक्रम, विचार नीति र सिद्धान्तलाई तलमाथि गर्न खनालले बताए ।
अध्यक्ष माधवकुमार नेपाल वर्तमान नेतृत्वलाई निरन्तरता दिनुपर्ने पक्षमा छन्। उनले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरे पनि आन्तरिक असन्तुष्टिका कारण चुनौतीहरू सामना गरिरहेका छन्। पार्टीभित्रको गुटबन्दी र नेतृत्व चयनको विषयले एकिकृत समाजवादीलाई बारम्बाबार विवादमा ल्याउने गरेको छ । पार्टीका महासचिव भुसालले पार्टीमा पुस्तान्तरणको आवश्यकता औंल्याउँदै नयाँ नेतृत्वको माग गरेका छन्। उनले अध्यक्ष पदमा दाबी गरेका थिए । उनले पार्टीभित्रको एकल निर्णय प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
यस्तै पार्तीका सम्मानीत नेता झलनाथ खनालले पनि अध्यक्ष पदमा आफ्नो दाबी प्रस्तुत गरेका थिए । उनले पार्टीभित्रको गुटबन्दी र आन्तरिक कलहप्रति चिन्ता व्यक्त गर्दै नेतृत्वमा परिवर्तनको आवश्यकता रहेको बताएका छन्।
कार्यविभाजन र पदाधिकारी चयनमा असहमति :
पार्टीको १०औं राष्ट्रिय महाधिवेशनपछि पदाधिकारी र पोलिटब्यूरो सदस्यहरूको चयनमा विवाद उत्पन्न भएको छ। अध्यक्ष नेपालले आफ्ना निकट व्यक्तिहरूलाई पदाधिकारीमा नियुक्त गरेको आरोप लागेका छन्, जसले महासचिव भुसाल र सम्मानित नेता खनाल पक्षलाई असन्तुष्ट बनाएको छ। यसले गर्दा पार्टीभित्र आन्तरिक कलह बढ्दै गएको छ।
पार्टी विभाजनको सम्भावना :
आन्तरिक विवाद र असन्तुष्टिका कारण पार्टी विभाजनको सम्भावना बढेको छ। पदाधिकारी र पोलिटब्यूरो खारेज गर्दै केन्द्रीय कमिटी बैठक बोलाएर नयाँ संरचना बनाउनुपर्ने माग उठेको छ। तर, अध्यक्ष नेपाल हालको पदाधिकारी टिमलाई नै निरन्तरता दिन चाहन्छन्, जसले विवादलाई अझै गहिरो बनाएको छ। यो आन्तरिक विवादले नेकपा (एकीकृत समाजवादी) पार्टीको एकता र भविष्यमा गम्भीर असर पार्न सक्ने देखिन्छ।




