काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो आह्वानमा समर्थन जनाउन सुझाव दिएका छन्। मिश्रले भट्टराईले विगतमा राजासँग सहकार्य गर्न प्रस्ताव गरेको स्मरण गराउँदै टिप्पणी गरेका हुन्।
पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको शुभकामना सन्देशमा ‘देश जोगाउनका लागि साथ दिन’ आह्वान गरेका थिए। यो सन्देशपछि राजावादी नेताहरूले राजतन्त्र फर्काउन संघर्ष गर्ने बताएका छन्।
मिश्रले भट्टराईको पछिल्लो अभिव्यक्तिमाथि आपत्ति जनाउँदै भिडिओ मन्तव्य जारी गरेका छन्। भट्टराईले एक अन्तरवार्तामा पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिलाई आपत्तिजनक बताउँदै उनलाई नियन्त्रणमा लिएर कारबाही गर्नुपर्ने माग गरेका थिए।
भट्टराईले अन्तरवार्तामा भनेका थिए, ‘ज्ञानेन्द्र शाहले निरन्तर यस्ता अभिव्यक्ति दिइरहेका छन्। लोकतन्त्रमा वाकस्वतन्त्रता भएको भन्दै हामीले उनलाई छुट दिएका हौं। तर, उनले निरंकुश राजाको भूमिका खेलेका छन् र बाह्य शक्तिसँग साँठगाँठ गरेका छन्। सरकारले उनको गतिविधि निगरानीमा राख्नुपर्छ र आवश्यक कारबाही गर्नुपर्छ।’
मिश्रले यसलाई तुच्छ अभिव्यक्ति भन्दै भट्टराईमाथि गम्भीर आरोप लगाए। ‘पहिलो संविधानसभा चुनावअघि राजासँग सहकार्य गर्न माओवादी तयार भएको तपाईंको प्रस्ताव होइन?’ उनले प्रश्न गरे। मिश्रले भट्टराईले सत्ता नआउँदासम्म गणतन्त्रवादी हुने र सत्ता आएमा राजसंस्थासम्म स्वीकार्ने दोहोरो चरित्र देखाएको आरोप लगाए।
मिश्रले नाम उल्लेख नगरेका ‘सूत्र’ भने कमल थापा हुन्। थापाले आफ्नो स्टाटसमा भट्टराईले २०६० सालमा हापुरे वार्ता र संविधानसभा चुनावअघि प्रचण्डसहित राजासँग सहकार्यको प्रस्ताव राखेको स्वीकार गरेका छन्।




