खेलकुद

अन्तिम बलमा यूएई पराजित, नेपालको रोमाञ्चक जित

काठमाडौं । क्रिकेट प्रेमीलाई सास रोकिने अवस्था बनाएको खेलमा नेपालले यूएईविरुद्ध अन्तिम बलमा सनसनीपूर्ण जित निकालेको छ। लिग–२ अन्तर्गतको यस खेलमा नेपाल ६ रनले विजयी बन्दा नायक बने युवा बलर नन्दन यादव। खेलको अन्तिम ओभरमा यूएईलाई जितका लागि १४ रन चाहिएको थियो। पहिलो बलमै चौका प्रहार भएपछि दबाब नेपालतर्फ सरेको देखिएको थियो। तर त्यसपछि खेलले नाटकीय मोड लियो—दोस्रो बलमा विकेट, तेस्रोमा रनआउट र अन्तिम दुई बलमा कुनै रन नदिँदै यादवले खेल नेपालको पक्षमा मोडिदिए।

वर्षाका कारण प्रभावित खेलमा यूएईले ३८ ओभरमा २५५ रनको संशोधित लक्ष्य पाएको थियो। तर नेपालका बलरहरूको कसोटी अगाडि यूएई ८ विकेट गुमाएर २४८ रनमै सीमित रह्यो। यूएईका लागि मुहम्मद शहजाद (६५) र खुजैमा तनवीर (४९) ले संघर्ष गरे पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्। यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रनको बलियो योगफल बनाएको थियो।
उपकप्तान दीपेन्द्र सिंह ऐरीले ९४ बलमा १०० रनको शानदार शतक प्रहार गर्दै नेपालको इनिङ्स सम्हाले। विनोद भण्डारी (५६), गुलशन झा (४४) र रोहित पौडेल (३९) ले पनि महत्वपूर्ण योगदान दिए।नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिँदा सोमपाल कामी र नन्दन यादवले समान २–२ विकेट लिए। विशेषगरी अन्तिम ओभरमा यादवको संयमित बलिङले खेलको दिशा नै बदलिदियो। यो जित केवल स्कोरको हिसाबले मात्र महत्वपूर्ण होइन, मानसिक रूपमा पनि नेपालको टोली बलियो बन्दै गएको संकेत हो। अन्तिम क्षणसम्म दबाब झेल्दै खेल जित्नु उच्च स्तरको प्रतिस्पर्धामा आवश्यक गुण हो। यसअघि पनि यूएईलाई पराजित गरिसकेको नेपालले यो जितसँगै सिरिजमा आफ्नो पकड थप मजबुत बनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *