देश

समावेशी लोकतन्त्र र आरक्षण नीतिमा नेपालको अग्रणी भूमिका: सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आरक्षणको सवालमा नेपाल अग्रणी रहेको दाबी गरेका छन् । बुधबार (आज) प्रजातन्त्र सेनानी संघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले ३३ प्रतिशत महिलाको आरक्षण नेपालमा लागू भएको कुरामा गर्व व्यक्त गर्दै संसारका थोरै देशमा यस्तो व्यवस्था रहेको बताए ।

सभापति देउवाले समावेशी लोकतन्त्रको महत्वपूर्ण पक्षको रूपमा नेपालको संविधानमा सबै जातजाति र वर्गका लागि आरक्षण रहेको उल्लेख गरे। उनले भने, “हाम्रो देश नेपाल सबैभन्दा अगाडि छ। ३३ प्रतिशत महिलाको आरक्षण संसारका थोरै देशमा छ।” सभापति देउवाले धेरै साथीहरुको त्याग, तपस्या र बलिदानबाट आएको प्रजातन्त्र र लोकतन्त्रको भावनाको रक्षा गर्दै अगाडि बढ्नु पर्ने बताएका छन् ।

बुधबार ललितपुरमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहमा उनले यो व्यवस्था ल्याउन लडेकाहरुको भावनालाई लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले भने, ‘धेरै साथीहरुको त्याग, तपस्या र बलिदानले आएको यो समावेशी प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र छ । यो व्यवस्था ल्याउन लडेकाहरुको भावनाहरुलाई अझ अगाडि बढाउनु छ । यसको लागि हामी सबै लागि पर्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।’

यसको साथै, उनले वर्तमान संविधान सम्पूर्ण नेपालीहरु अटाउने खालको भएको भन्दै यसमा केही कमीकमजोरी भए भोलीका दिनमा सुधार गर्दै जाने बताए ।

उनले भने, ‘हाम्रो पार्टी, संविधान र देश नै समावेशी छ । नेपाल जुन नयाँ संविधान बनेको छ । यसमा सम्पूर्ण नेपालीहरु अटाउने खालको छ । यसमा केही कमीकमजोरी रहेछ भने भोलीका दिनमा सुधार गर्दै जानु पर्छ । त्यसैले यो हाम्रो संविधान लचिलो र संशोधन हुन सक्ने संविधान हो ।’

देउवाले पार्टी र देशलाई समावेशी राजनीति र समावेशी संविधानको उदाहरणका रूपमा प्रस्तुत गरे। “हाम्रो पार्टी, हाम्रो संविधान र हाम्रो देश सबै समावेशी छन्,” उनले जोड दिए।

नेपाली काँग्रेसको भ्रातृ संस्था प्रजातन्त्र सेनानी संघको महाधिवेशन आजदेखि १० गतेसम्म चल्नेछ। देउवाले महाधिवेशनको सफलता कामना गर्दै संघको इतिहास र प्रगति सम्बन्धमा पनि चर्चा गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *