काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोईरालाले कांग्रेस अहिले सरकारमा नरहेको बताएका छन् ।
मंगलवार काठमाडौंमा नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै कांग्रेस सत्ता पक्षमा रहेको तर सरकार बाहिर रहेको जिकिर गरे । कोइरालाले सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता रहेको भन्दै बिस्तारै बिस्तारै थाहा नपाउने गरी सरकार एमालेकरण हुन लागेको आरोप लगाए ।
सांसद कोईरालाले सरकारमा नरहेको बताएपनि अहिले नेपाली कांग्रेस र नेकपा एमालेको सरकार संघदेखि प्रदेश तहसम्म नै रहेको छ । संयन्त्रले सरकार चलाउने कुरा कम्युनिष्टहरु र साम्यवादी देशहरुमा मात्रै हुनसक्ने भन्दै लोकतन्त्रमा त्यस्तो नहुने जिकिर गरे । कोइरालाले अहिले केन्द्रदेखि गाउँपालिकासम्म संयन्त्रबाट शासन गर्ने र अब बिस्तारै वडामा पनि संयन्त्र बनाएर शासन गर्ने दुष्प्रयत्न भइरहेको बताए ।
सांसद कोईरालाले सामाजिक सञ्जाल सम्बन्धी विधेयक मानिसको अभिव्यक्ति स्वतन्त्रताप्रति आघात पुग्नेगरी ल्याइएको भन्दै नियमन गर्ने नाउँमा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न नपाइने बताए । कुनैपनि हालतमा सरकारले संसदमा पेश गरेको सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता गरेर सम्बन्धित सरोकारवालहरुसँग छलफलपछि मात्रै पुनः ल्याउनुपर्ने कोइरालको भनाई छ ।
सांसद कोईरालाले देशमा सुशासन, राजनीतिक स्थायित्व दिनका लागि वर्तमान सरकार बनाएपनि सरकारका काम कारबाही घुस दिनेलाई समात्ने र घुस लिनेलाई उन्मुक्ति दिने किसिमको देखिएको आरोप लगाए । कोईरालाले सरकारका महान्यायाधिवक्ता रमेश बडालले राज्यले दिएको अधिकारको दुरुपयोग गरेको पनि आरोप लगाए ।




