
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद गगन थापाले बाढी–पहिरोले भत्काएका सडकहरू कसरी निर्माण गरिन्छन् भन्ने प्रश्न गरेका छन् ।
हिउँदमा ती सडक मर्मतका काम नभएकोतर्फ लक्ष्य गर्दै बिहीबारको प्रतिनिधि सभामा कांग्रेस महामन्त्री थापाले भने, ‘४१ वटा सडकखण्ड पुनर्निर्माण गर्न २५ अर्ब चाहिन्छ, सरकारले बजेटमा जम्मा २१ अर्ब छुट्याएको छ । पैसा कहाँबाट ल्याउने भन्ने सरकारले सोचेको छ ? बर्खामा बाटोहरू कसरी बन्छन् ?’ जाजरकोटको भूकम्प, असोजको बाढी र यसका बारेमा भइरहेका कामलगायत विषयमा सरकारले सदनलाई जानकारी गराउनुपर्ने उनले बताए ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसद थापाले भने, ‘जाजरकोटको भूकम्पबाट करिब ९२ हजार बढी घर पुनर्निर्माण गर्नुपर्ने आंकलन भएको छ । घर पुनर्निर्माण गर्ने कुरा धेरै परको भयो । दोस्रो किस्ताको रकम नै पीडितले पाएका छैनन्’, उनले भने, ‘उदेक लाग्दो कुरा त डीडीए भर्खर हुँदैछ ।’ उनले असोजको बाढीबाट प्रभावितले पनि राहत किस्ता रकम नपाएको बताए ।
त्यस्तै उनले असोजको बाढीबाट भत्किएका राजमार्ग बनाउन नै एक खर्ब चाहिने भए पनि सरकारले २१ अर्ब मात्र छुट्टाएको बताए । ‘यो पैसा कहाँबाट ल्याउने सरकारले सोचेको छैन श्रोत कसरी जुटाउने भन्नेबारे सदनलाई जानकारी गराइयोस् हामी जान्न चाहन्छौ सुन्न चाहन्छौ’, थापाको माग छ ।