राजनीति

चितवनमा लामिछानेविरुद्ध चाडैँ मुद्दा दर्ता गर्ने तयारी , १४ जनाविरुद्ध ३८ करोडमाथि बिगो कायम

काठमाडौं । पोखराको सुर्यदर्शन सहकारी ठगी प्रकरण, काठमाडौंँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण र बुटबलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतको आदेशमा दुई करोड,२५ लाख धरौटी बुझाएर रिहा भएका पूर्व गृहमन्त्री,गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक,तथा रास्वपाका निलम्बित सभापति रवि लामिछानेमाथि चितवनको सहकारा सहकारी ठगी प्रकरणमा पनि जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्धा दर्ता गर्ने तयारी गरेको छ ।

आइतबार सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका लामिछानेविरुद्ध चितवनको साहारा सहकारी ठगी प्रकरणमा मुद्दा दर्ताका लागि फाइल तयार भएको जिल्ला सरकारी वकिल कार्यालय चितवनका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले जानकारी दिए ।

उनका अनुसार चितवनको साहारा सहकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध अनुसन्धान गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाइसकेको छ । न्यायाधिवक्ता लुइँटेलले सो सहकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध आइतबार राय प्राप्त भएकाले ढिलामा एक हप्ताभित्र जिल्ला अदालत चितवनमा मुद्धा दर्ता हुने बताए ।

फाइल तयार भइसकेपनि बिचमा सरकारी विदाहरु भएका कारण प्रहरीमार्फत सरकारी वकिल कार्यालयमा आएको अनुसन्धान प्रतिवेदन माघ २२ गतेसम्ममा दर्ता गरिसक्ने तयारी रहेको न्यायाधिवक्ता लुईँटेले संकल्प खबरलाई जानकारी दिए । क्यालेन्डरअनुसार माघ १६, १७ र १९ गते तीन विदा परेको छ । त्यसकारण अदातमा मुद्धा दर्ता गर्न केही ढिला हुने देखिएको छ । तर सरकारी वकिल कार्यालय चितवनले सकेसम्म चाँडो मुद्धा दर्ता गराउने तयारी थालिएको जनाएको छ ।

अनुसन्धान प्रतिवेदनमा पूर्वगृहमन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, प्रहरीकै पूर्वअसई रामबहादुर खनाल र कुमार रम्तेलसहित १४ जनालाई प्रतिवादी बनाउन राय दिइएको सरकारी वकिल कार्यालय चितवनले जनाएको छ ।

सो सहकारी प्रकरणमा ३८ करोड ९ लाख ७९ हजार १७७ रुपैयाँ विगो कायम गरिएको छ । यस्तै सहकारीबाट त्यसभन्दा बढी रकम जीबी राईसहितका प्रतिवादीका नाममा रहेका विभिन्न ६ वटा कम्पनीमा गएको प्रहरीको निष्कर्ष छ । प्रहरी अनुसन्धानका अनुसार सो कम्पनीमा ४३ करोड १४ लाख ९९ हजार ९२८ रुपैयाँ गएको उल्लेख गरिएको छ । सो रकममध्ये गोरखा मिडिया नेटवर्कमा १० करोड ८० लाख रुपैयाँ देखिएको छ ।

जीबी ग्रुपअफ कम्पनीमा ९ करोड ७० लाख, नेचर हब्समा ९ करोड ७३ लाख र बाँकी रकम स्प्रिङ उड रियलस्टेट एन्ड हाउजिङ प्रालि र नेचर नेस्ट कम्पनीका नाममा गएको प्रहरी अनुसन्धानले देखाएको छ । सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध विगो कायम गर्ने विषयमा अन्तिम निष्कर्ष निकाले सो मुद्धा जिल्ला अदालत चितवनमा दायर गर्ने तयारी छ । प्रहरीले उनीहरूलाई सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरेको छ । यस्तै लामिछानेमाथि पर्सा जिल्लामा समेत सहकारी ठगीको आरोप लागेको छ । चितवनमा अनुसन्धान सहिएपछि लामिछानेविरुद्ध पर्सामा अनुसन्धान हुनेछ ।

आइतबार बुटवलस्थित सुप्रिम सहकारी ठगीमा रुपन्देही जिल्ला अदालतमा १ करोड धरौटी बुझाएर लामिछाने रिहा भएका छन् । यसअघि उनी पोखराको सूर्यदर्शन सहकारी ठगीमा कास्की अदालतमा ६५ लाख र काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा काठमाडौँ अदालतमा ६० लाख धरौटी बुझाएर छुटेका थिए।

कास्की जिल्ला अदालतको आदेश सही नभएको भन्दै सुर्यदर्शन सहकारी ठगी प्रकरणमा उनमुक्ति पाएका लामिछाने , पूर्व डिआइजी छविलाल जोशीसहित सात जनालाई पुनः थुनामा राखेर नै अनुसन्धान राखेर अनुसन्धान गर्नुपर्ने र सहकारी पीडितहरुले आफूहरुको हिनामिना भएको रकम फिर्ताको मागसहित मुद्धा दर्ता गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *