काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानका आधारभूत विषयहरूलाई चलाउन नहुने बताउँदै आवश्यक विषयमा मात्र छलफल गरेर आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छ्न् ।
आइतबार मीनकुमारी राणा प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् । संविधानका केही विषयहरूलाई संशोधनमार्फत फेरबदल गर्न सकिने भएपनि आधारभूत विषयहरूलाई चलाउन नहुने महामन्त्री थापाले बताए ।
अर्को विकल्प वा व्यवस्थाका विषयमा बहस भए अर्को दश वर्ष खेर जाने भन्दै असफलताको भारी व्यवस्थालाई बोकाउन नहुने महामन्त्री थापाको भनाइ छ । पाँच–पाँच वर्षमा हुने निर्वाचनमा दलहरू जित्ने हार्ने स्वाभाविक प्रक्रिया भएकाले यसलाई सवैले स्वीकार गर्न सक्नुपर्ने उनले बताए । एउटा नेता मन्त्री, प्रधानमन्त्री हुने पनि ठूलो कुरा नभएपनि नेतृत्व बदल्ने कुरा महत्वपूर्ण भएको उल्लेख भएको उल्लेख गर्दै महामन्त्री थापाले आफूहरूले अवसर पाए अहिलेका प्रधानमन्त्रीभन्दा राम्रोसँग देश चलाउन सक्ने क्षमता भएको समेत बताए ।
थापाले कांग्रेसले ८४ को चुनावलाई पर्खेर बस्ने नभई अहिलेको अवसरलाई नै सदुपयोग गरेर देश र जनताको सम्मुन्नतिका लागि काम गर्नुपर्ने बताए । महामन्त्री थापाले देशमा स्थानीय तह, केन्द्र र प्रदेशमा समेत कांग्रेसका निर्वाचित सांसद र मन्त्रीहरुको समेत निकै बाक्लो उपस्थिति भएको भन्दै विभिन्न बहाना बनाएर काम गर्न नसकेको उल्लेख गर्न नहुने बताए । देश विकासका लागि बोल्नु भन्दा बढी काम गर्न आवश्यक रहेको उल्लेख गर्दै महामन्त्री थापाले कांग्रेसभित्रका कोही पनि नेताहरुलाई सरकारको कम्जोरी देखाएर काम ठग्ने अवसर अव नहुने भन्दै निष्ठापूर्ण रुपमा काम गर्न महामन्त्री थापाले सुझाव समेत दिए ।




