राजनीति

सुप्रिम सहकारीको अनुसन्धानपछि लामिछानेविरुद्ध साहारा चितवनमा अनुसन्धान हुने

काठमाडौं । चितवनको भरतपुरमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा रास्वपा निलम्बित सांसद रवि लामिछानेसहित १४ जनाविरुद्ध संस्थाको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान सकेर प्रहरी ३८ करोड ९ लाख ७९ हजार १७७ रुपैयाँको बिगो कायम गरी प्रहरीले सो प्रतिवेदन अदालतमा पेश गरेको छ । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १४ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित गत शुक्रबार मुद्धा सरकारी वकिलको कार्यलयमा बुझाइसकेको छ।

यसअघि ८ भदौमा सोही सहकारी प्रकरणमा १७ जनालाई प्रतिवादीमाथि मात्र मुद्दा दायर भएको थियो । पछिल्लो समय प्रहरी अनुसन्धानबाट थप प्रतिवादी फेला परेपछि अहिले साहारा चितवन सहकारी ठगी प्रकरणमा ३१ जना प्रतिवादीको संख्या पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार सो सहकारी ठगी प्रकरणमा दुई चरणमा पक्राउ पुर्जी लिइएका १४ जनामाथि अनुसन्धान गरेर उनीहरुलाई प्रतिवादी बनाइएको हो ।

प्रहरीले चितवन जिल्ला अदालतले गएको मंशिर सात गते पूर्वगृहमन्त्री लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि प्रहरीले अनुसन्धानका लागि प्रक्रियागत रुपमा उनीहरुलाई पक्राउ गरेर बयान लिएर सोही अनुसन्धानका आधारमा थप व्यक्ति खुलेपछि चार जनाविरुद्ध पुनः पक्राउ पुर्जी लिएको थियो । त्यसपछि पूरक अभियोजनमा थप १४ नयाँ प्रतिवादी बनाउनुपर्ने राय प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलका अनुसार सो सहकारी ठगी प्रकरण अनुसन्धानमा रहेको जानकारी दिए । यसअघि ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै ८ भदौमा १७ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । अहिले थप १४ जना अन्य प्रतिवादी थपिएकाले बिगो रकम ३८ करोड ९ लाख ७९ हजार १७७ रुपैयाँ पुगेको प्रहरी अनुसन्धानमा उल्लेख छ ।

गत मंसिर पहिलो साता २४ बचतकर्ताले रविसहित १० व्यक्तिविरुद्ध चितवन प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले दोस्रो चरणको अनुसन्धान अघि बढाएको थियो । त्यतिबेला साहाराका बचतकर्ताले रवि र पूर्वडीआईजी छविलाल जोशीसहित जीबी ग्रुप अफ कम्पनीका सेयरधनी सिन्धुलीको दुधौली नगरपालिका–२ का विशाल तामाङ, अर्का सेयरधनी नवीन अछामी, रबिना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, भगवती बम्जन, कविता तामाङ र रामबहादुर खनालविरुद्ध उजुरी दिएका छन् ।

हाल सहित १४ जनालाई मुलुकी फौजदारी अपराध संहिताको ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउनुपर्ने प्रहरीको राय रहेको छ । प्रतिवादीबाट बिगो असुल उपर गर्नुका साथै मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को ठगी गर्न नहुने कसुरको मुद्दा लगाउँदै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको समेत मागदाबी गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *