काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समयमा कार्यसम्पादन विवरण बुझाउन नसकेको भन्दै मन्त्रालयलाई स्पष्टीकरण दिएका छन् ।
घिसिङले देशमा भएको बाढीपहिरोजन्य विपदका कारण समयमा आफूले कार्यसम्पादन विवरण बुझाउन नसकेको स्पष्टीकरण दिएका हुन् । डेडीकेटेड र टङ लाइन विवाद, समयमा कार्यसम्पादन विवरण बुझाउन नसक्नु र उद्योगी व्यावसी र प्राधिकरणबीच देखिएको समस्या समधान गर्न नसकेपछि घिसिङ विवादमा आएका थिए । सरकारले सो कार्य गर्न बारम्बार निर्देशन समेत दिदैँ आएको थियो । तर सरकारको र मन्त्रीको निर्देशन समेत नमानी आफूखुर्शी प्राधिकरणमा हैकम चलाइरहेका घिसिङलाई गत सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङको नियुक्ति किन अन्त्य नगर्ने भन्दै स्पष्टीकरण सोधेको थियो । त्यसपछि घिसिङले कार्यसम्पादन बुझाएपछि मन्त्रालयलाई सो स्पष्टीकरण बुझाएका थिए ।
घिसिङसँग ५ भदौ २०७८ मा भएको कार्यसम्पादन करारमा अघिल्लो वर्षको कार्यसम्पादन मूल्यांकन नयाँ वर्ष भदौभित्र गरिनुपर्ने स्पष्ट उल्लेख भए पनि घिसिङले समयमा कार्यसम्पादन विवरण बझाउन नसकेकै कारण मन्त्रालयले घिसिङको कार्यशैली र जिम्मेवारीमाथि प्रश्न उठाउँदै स्पष्टीकरण सोधेको थियो । सरकारले यसपटक मात्र घिसिङलाई स्पष्टीकरण सोधेको होइन, यहाँभन्दा पहिला समेत सरकारले स्पष्टीकरण सोधेको थियो । सरकारले सोधेको स्पष्टीकरणमा घिसिङले शक्तिको आडमा बोलेको झल्किन्थ्यो तर केही दिन अघि मन्त्रालयले सातभित्र तथ्यका आधारमा स्पटिकरण नदिए पदबाट हटाउने निर्देशन दिएसँगै घिसिङले तुरुन्तै स्पष्टीकरण दिएका हुन् ।
‘मुलुकमा गएको बाढीपहिरोका कारण विभिन्न उत्पादन, प्रसारण तथा वितरण संरचना तथा लाइनहरू क्षतिग्रस्त भई विद्युत् उत्पादन तथा आपूर्ति अवरुद्ध भएकाले सोको पुनर्निर्माण र सञ्चालन गर्न फिल्डमा समेत गई अहोरात्र खटिनुपरेका कारण सो विवरण पेस गर्न केही समय लागेको हो,’ घिसिङले स्पष्टीकरणमा लेखेका छन् । मन्त्रालयले स्पष्टीकरण सोधेपछि घिसिङले गत बिहीबार कार्यसम्पादन विवरण बुझाएका थिए ।




