देश

प्रजातन्त्रप्रति प्रतिबद्ध र इमान्दार नेताका रूपमा स्व सिंहको स्मरण

काठमाडौं । काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख पिएल सिंहलाई प्रजातन्त्रप्रति पूर्ण प्रतिबद्ध र इमान्दार नेताका रूपमा स्मरण गरिएको छ । नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको सामीप्यमा रही नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि योगदान दिनुभएका सिंहले सत्य, निष्ठा र इमान्दारको प्रतीकका रूपमा आफ्नो छवि बनाएको. उनका सहकर्मीले प्रतिक्रिया दिएका छन् ।

समाजसेवी हितकरवीरसिंह कंसाकारले हरेक नागरिकदेखि माथिल्लो ओहदामा रहने सबैलाई समान व्यवहार गर्ने सिंह प्रजातन्त्रप्रति अडिग र ज्यादै इमान्दार नेता थिए । मुलुकमा बहुदलीय प्रजातन्त्रको पुनः बहालीपछि भएको स्थानीय तहको निर्वाचनमा विजयी भई उहाँले विसं २०४९ मा तत्कालीन काठमाडौं नगरपालिका प्रमुखको जिम्मेवारी सम्हालेका थिए । कंसाकारले भने , “पिएलजी गणेशमानसिंह र मङ्गलादेवीको सामीप्यमा रही राजनीतिक सहयोगीका रूपमा लामो समय काम गरे , प्रजातन्त्रवादी योद्धा पिएलले काठमाडौँ नगरपालिकालाई विश्वमा चिनाउन धेरै महत्वपूर्ण कामसमेत गरेका छन् ।”

प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँबाट विजयी भएपछि वातावरणमन्त्री बनेका सिंहले त्यसअघि नै काठमाडौँलाई स्वच्छ, सफा र हराभराको नारा दिएर काम गरेका थिए । उनका पिता स्वास्थ्यकर्मी चन्द्रमान सिंहसमेत तत्कालीन जहानियाँ राणाशासनका विरुद्ध र प्रजातन्त्रका पक्षमा लामो समयसम्म संलग्न भई काम गरेका थिए ।

पूर्वमन्त्री भीमसेनदास प्रधानले प्रजातन्त्रप्रति प्रतिबद्ध सिंहले विसं २०४२ को सत्याग्रह र विसं २०४६ को जनआन्दोलनका बेला कुशलतापूर्वक पार्टी प्रवक्ताको जिम्मेवारी सम्हालेको स्मरण गरे । उनले भने , “गणेशमानजीको राजनीतिक सहयोगीका रूपमा पिएलले काम गरे । उहाँ समाजमा सबै व्यक्तिलाई समान व्यवहार गर्नुपर्छ भन्नुहुन्थ्यो । स्वच्छ, सफा र हराभरा काठमाडौँ अभियान उनले सुरु गरे । उनी प्रजातन्त्रप्रति निष्ठावान् र अडिग व्यक्ति थिए ।” काठमाडौँ ताम्सिपाखामा विसं १९९६ चैत ११ गते जन्मनुभएका पिएलको अन्त्येष्टि त्यही नजिक लखुतीर्थमा गरिँदैछ । उनी अविवाहित थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *