राजनीति

राजनीतिक स्थायित्वका लागि गठबन्धन महत्वपूर्ण: सभापति देउवा

मोरङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई लक्षित गर्दै धेरै बोल्नेले आफूलाई सिध्याउने तर, कम बोल्नेले अरुलाई सिध्याउने टिप्पणी गरेका छन् ।

आज (शनिबार) विराटनगरमा आयोजित नेपाली कांग्रेसको प्रथम कोशी सम्मेलनलाई सम्बोधन गर्दै देउवाले यस्तो टिप्पणी गरेका हुन् । सम्मेलनलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले सभापति ‘धेरै नबोल्नु हुने भएकाले उहाँको समय पनि लिएर केहि बढी बोलेको’ बताएका थिए ।

देउवाले स्थानीय तह सबै भन्दा महत्वपूर्ण भएकाले स्थानिय तहमा मिहिनेत गर्न कार्यकर्तालाई निर्देशन दिए । उनले तीन तहको संरचना मध्ये सबै भन्दा महत्वपूर्ण संरचना स्थानिय तह भएकाले स्थानिय तहमा बलियो हुने पार्टी मात्रै बलियो हुने स्पष्ट पारे ।

देउवाले भने ‘ग्रासरुटलाई मजवुद बनाउने पार्टी मात्रै बलियो हुने भएकाले स्थानिय तह, वडा र टोलमा पार्टीलाई बलियो बनाउन आजैदेखि मिहिनेत गर्नुहोस् ।’ देउवाले राजनीतिक स्थायित्वका लागि गठबन्धन महत्वपूर्ण रहेको बताए । उनले प्रधानमन्त्री ओलीले राम्रो काम गरिरहेको भन्दै प्रशंसा समेत गरेका छन् । देउवाले कांग्रेस ऋणको विरोधी नभएको स्पष्ट पार्दै अन्य देशहरूबाट ऋण नलिने गरेकाले विआरआई अन्तर्गतका परियोजनामा ऋण लिन नहुने अडान लिएको स्पष्ट पारे ।