राजनीति

कीर्तिपुरको मेयरमा उमेदवारी दर्ता,तेस्रो लिंगीको पनि उमेदवारी

काठमाडौं । आगामी मंशिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले आज उमेदवारी दर्ता गरिरहेका छन् । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदका निम्ति नेपाल समाजवादी पार्टी, नयाँ शक्तिका तर्फबाट दिलकुमार महर्जनले उमेदवारी दर्ता गराएका छन् । बाबुराम भट्टराई अध्यक्ष रहेको उक्त पार्टीका तर्फबाट आइतबार मनोनयनपत्र दर्ता गराइएको हो । यस्तै उक्त नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार डा.नवरथकुमार बानियाँले पनि उम्मेदवारी दर्ता गराएका छन् । आइतबार उम्मेदवारी दर्ता गर्दै बानियाँले दलीय उम्मेदवारले चुनाव जित्दा बेथिति र निराशा बढाएको भन्दै आफूले उक्त बेथिति र निराशा चिर्न उम्मेदवारी दिएको उनले दाबी गरेका छन् ।

यस्तै एमालेबाट कीर्तिपुर नगरपालिकाका मेयरमा डा. सुरेन्द्र मानन्धले उमेदवारी दर्ता गरेका छन् । उनले उमेदवारी दर्ता गर्दै पार्टी र आफूहरूप्रतिको आशा व्यवहारमा परिणत गर्ने बाचा गरेका छन् । उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै उनले एकता सहकार्यसहित नगरको समृद्धि र विकासको एजेण्डा लिएर जनतामाझ जाने बताए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुरमा रिक्त मेयर र २ वडाध्यक्षमा उम्मेदवारी दिएको छ ।
निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा ध्रुव महर्जनले उम्मेदवारी दर्ता गराए । त्यस्तै वडा नम्बर १ मा सुरेन्द्रप्रसाद उप्रेती र ४ को अध्यक्षमा विजेश बस्नेतले मनोनयन दर्ता गराएका छन् ।

यस्तै नेपाल मजदुर किसान पार्टी(नेमकिपा)ले कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षको पदमा उम्मेदवारी दिएको छ । मेयर पदमा श्री कृष्ण महर्जनले उम्मेदवारी दिएका छन् भने वडानम्बर ४ मा महेश्वर सुबेदी र वडा १ कृष्ण प्रसाद महर्जनले उम्मेदवारी दर्ता गरेका छन् । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नेमकिपाले कीर्तिपुर नगरपालिकाको तीन वटै पदमा उम्मेवारी दिएको हो । कीर्तिपुर नगरपालिकाको मेयरमा तेस्रो लिंगी दीपक महर्जन (हनि) र वडाध्यक्षमा राजीव महर्जन (मौनी) ले मनोनयन दर्ता गराएका छन् ।

उनीहरूलाई उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले टिकट दिएको हो । यौनिक तथा लैङ्गिक समुदायको अधिकारका लागि वकालत गर्दै आएको मायाको पहिचान नेपालको पहलमा हनिलाई मेयर र मौनीलाई ४ नम्बर वडाध्यक्षको उम्मेदवार बनाइएको हो । रास्वपाले उम्मेदवारी नदिने

यस्तै कीर्तिपुरको मेयरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी नदिने बताएको छ । मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने रास्वपाका काठमाडौं सभापति प्रदीप विष्टले बताए
यसअघि रास्वपाले कीर्तिपुरमा जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो । यसअघि एमाले, नेमकिपा, नेपाल समाजवादी नयाँ शक्ति पार्टी र स्वतन्त्रले उम्मेदवारी दिइसकेका छन् ।

कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा.सुरेन्द्र महर्जन, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन, बाबुराम भट्टराईको डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का दिलकुमार महर्जन र स्वतन्त्रको नवरथ कुमार बानियाँ उम्मेदवार छन् ।

आसन्न उपनिर्वाचनका निम्ति आज बिहान १० देखि अपराह्न ५ बजेसम्म उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ । स्थानीय तहका रिक्त ४४ पदका लागि आगामी मंसिर १६ गते मतदान हुँदै छ । आजै साँझ ५ देखि ६ बजेसम्म उमेदवारको सूची प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन कार्यक्रमानुसार, मंसिर ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिन सकिनेछ । सोही दिन दिउँसो ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरिनेछ । मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका छ ।

मंसिर ५ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ । मंसिर ५ गते नै दिउँसो ३ देखि ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने निर्वाचन कार्यक्रम छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *