
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद चन्दा कार्कीले सहकारीको ६५ करोड ५४ लाख रुपैँया हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न सरकारलाई आग्रह गरेपछि नेकपा एमाले सांसद रघुजी पन्तले रास्वपा सांसद कार्कीलाई कडा जवाफ दिएका छन् । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा राज्य व्यवस्था समितिमा भएको छलफलमा सांसद पन्तले कार्कीलाई कडा जवाफ दिएका हुन् ।
सांसद कार्कीले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि शुभचिन्तकहरुले भेला भएर चिन्तन गर्नु सामान्य भएको भन्दै १२ लाख नेपालीले पत्याएको दलको सभापतिलाई पक्राउ गरेपछि नेता तथा कार्यकर्ताहरु सडकमा भेला भएको बताएपछि पन्तले कार्कीलाई २ करोड भोट ल्याएपनि भ्रष्टाचारमा अनुसन्धान हुने जवाफ दिए । बढी मत ल्याउनेले पनि देशमा भ्रष्ट्राचार गर्दैन भन्न नसकिने बताउदैँ पन्तले अभियोग लागेपछि कानुन अनुसार अनुसन्धान हुने बताए । कुनै पनि दलका नेताहरुले भ्रष्ट्राचारमा संलग्न व्यक्तिलाई पक्राउ गरेपछि सडकमा नाराबाजी गर्दै राज्यविरोध नारा लगाउन नहुने बताए ।
देशमा देखिएको सहकारीको समस्या समाधानका लागि सहकारी प्रकरणमा मुुछिएकाहरुमाथि अनुसन्धान गर्दा सभापति रवि लामिछानेको बचाउनमा रास्वपा उर्तिएको भन्दै पन्त्तले आपत्ति जनाए । नयाँ दलले राज्यलाई थप अनुसन्धानमा सहयोग गर्नुको सट्टा सडकमा भिड जम्मा गरेर अदालतलाई प्रभावित पार्ने कार्य गर्नु गैरकानुनी भएको पन्तले स्पष्ट पारे । लामिछानेको मुद्दामा निष्पक्ष र न्यायसङ्गत प्रमाणको आधारमा गृहले काम गरिरहेको सांसद पन्तले बताए ।